प्रदेश प्रमुखबारे छलफल गर्न नेकपाको सचिवालय बैठक : यी हुन् सम्भावित नाम
संविधान अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सातैवटा प्रदेशका प्रमुख पदमुक्त गरेपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र नयाँ अनुहारको खोजी सुरू भएको छ ।
नेकपाको आजको सचिवालय बैठकले सातै प्रदेश प्रमुखको नाम तय गर्ने र मन्त्रिपरिषद् बैठक बसेर सिफारिस गर्ने तयार भएको एक सचिवालय सदस्यले जानकारी दिए ।
यी हुन् सम्भावित नाम :
प्रदेश नम्बर १ को प्रमुखमा डा. केआर खम्बु र शर्मिला त्रिपाठीको नाम चर्चामा छ । केपी ओलीका पुराना सहयात्री र पाका वामपन्थी नेताका रूपमा परिचित खम्बु झापा आन्दोलनका उठानकर्ता पनि हुन् ।
सात प्रदेश प्रमुखमध्ये महिला अनुहार पनि चाहिने हुनाले पूर्वमाओवादीबाट त्रिपाठीको नाम चर्चामा छ । त्यस्तै पूर्वको रातो झण्डा समूहबाट वामपन्थी आन्दोलनमा हेलिएका गोपाल गुरागाईं र मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष गुरु बराल पनि दौडमा रहेका छन् ।
त्यस्तै प्रदेश नम्बर २ को प्रमुखमा धर्मनाथ शाह, धर्मनाथ यादव र दिनेशचन्द्र यादवको नाम चर्चामा छ । तीन नम्बर प्रदेश प्रमुखमा पूर्वमाओवादीले अमिक शेरचनको नाम अगाडि सारेको बताइएको छ ।
यता पूर्वएमालेबाट अमृत बोहोरा, रघुजी पन्त, पूर्व परराष्ट्रममन्त्री महेन्द्रबहादुर पाण्डे, केशव बडालगायतको नाम चर्चामा छ । पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन तीन नम्बर प्रदेश प्रमुख माधवकुमार नेपालको भागमा पर्न सक्छ ।
त्यसो भएको खण्डमा बोहोरा र पन्तमध्ये एक बन्नेछन् । केपी ओली समूहले पाएको खण्डमा पाण्डे र बडालमध्ये एक हुनेछन् ।
गण्डकी प्रदेश प्रमुखमा सोमनाथ प्यासीको नाम चर्चामा छ । पाँच नम्बर प्रदेश प्रमुखमा दाङका महेश चौधरीको नाम अगाडि सारिएको छ ।कर्णाली प्रदेश प्रमुखमा विनोदकुमार शाह र वीरेन्द्र भण्डारीको नाम चर्चामा ल्याइएको छ ।
सुदूरपश्चिम प्रदेश प्रमुखमा पूर्वमाओवादी समूहबाट खेमराज भट्ट मायालुको नाम चर्चामा छ । मायालु सुरूमा रामराजाप्रसाद सिंहको पार्टीमा थिए । पछि काङ्ग्रेस प्रवेश गरेर सांसद र मन्त्रीसमेत बनेका थिए । पछि माओवादी प्रवेश गरेका थिए ।
सुदूरपश्चिममा पूर्वएमालेले गोविन्द कलौनीको नाम अगाडि सारेको छ । २०५१ सालमा डडेलधुराबाट तत्कालीन काङ्ग्रेस नेता शेरबहादुर देउवासँग, २०५६ मा वैतडी र २०६४ मा कञ्चनपुरमा चुनाव लडेका कलौनी तीनैपटक पराजित भए ।
२०४९ सालको पाँचौैं राष्ट्रिय महाधिवेशनबाट पार्टी केन्द्रीय कमिटीका आएका हुन् उनी । कलौनी एमाले–माओवादी केन्द्र एकतापूर्व पार्टी निर्वाचन आयोगको उपाध्यक्ष थिए ।