Logo
५ जेष्ठ २०८१, शनिबार
(October 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ललितपुरको ग्वार्कोमा बस कब्जा गरी नगद लुट्ने ३ जना पक्राउ

ललितपुरको ग्वार्कोबाट ३ जना व्यक्ति पक्राउ परेका छन् । शुक्रबार कोटेश्वरबाट जावलाखेल जाँदै गरेको बसलाई कब्जा गरी धाकधम्की दिई ६४ हजार लुटपाट गर्ने ३ जना लुटेरा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बलेफी-६ घर भई ललितपुर-१ इमाडोल बस्ते सुजन तामाङ, काभ्रे बेथानचोक–६ घर भई हाल ललितपुर महालक्ष्मी-१ बस्ने सुमन आलेमगर र मकवानपुर कुलेखानी-४ घर भई ललितपुर-१ राता मकैचोक बस्ने सुरज तामाङ रहेका छन् ।

उनीहरुले कोटेश्वरबाट जावलाखेल जाँदै गरेको बा. ३ ख ४७६५ नम्बरको बसमा सवार रहेका काभ्रे स्थायी घर भएका मंगल बहादुर लोप्चनलाई बसभित्र घेरा हाली धम्की दिएर रकम लुटेका थिए ।

लोप्चन वैदेशिक रोजगारीमा जानको लागि बनेपाबाट काठमाडौँ आएका थिए । बनेपाबाट कोटेश्वर ओर्लिएका उनी जावलाखेलमा रहेको मेनपावर जानको लागि बस चढेका थिए । बसमा यात्रुहरु खचाखच भएकाले उनी उभिएको र उभिएको समयमै तीनै जना लुटेराले घेरा हाली रकम लुटेको महानगरीय प्रहरी वृत सातदोबाटोका डिएसपी गौतम मिश्रले जानकारी दिए ।

डिएसपी मिश्रका अनुसार रकम लुटिएपछि लोप्चनले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै चेकजाँच गर्ने क्रममा बसलाई प्रहरीले सातदोबाटोबाट नियन्त्रणमा लिएको थियो ।

प्रहरीले बसमा रहेका सबै यात्रुलाई चेक जाँच गर्न सातदोबाटो वृतमा लगेको थियो । चेकजाँचको क्रममा सुजन तामाङको साथबाट लुटिएको ६४ हजार बरामद भएको डिएसपी मिश्रले बताए । प्रहरीले लुटपाटमा संलग्न तीनै जनामाथि अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: Oct 25, 2019

प्रतिक्रिया दिनुहोस्