२ महिनामा ६ दशमलव १६ प्रतिशत मूल्यवृद्धि, रेमिट्यान्स घट्यो, विदेश जाने बढे
काठमाण्डौ : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो २ महिना अर्थात् साउन र भदौमा मूल्यवृद्धिको क्रम बढेको प्रकाशन गरेको छ । देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा २ महिनामा ६ दशमलव १६ प्रतिशत मूल्यवृद्धि भएको छ । अघिल्लो वर्ष मूल्यवृद्धि ३ दशमलव ८६ प्रतिशत रहेको थियो ।
२ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ६ दशमलव ५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ५ दशमलव ८९ प्रतिशत रहेको छ । २ महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मुख्यगरी तरकारी, फलफूल, मासु तथा माछा र मसला उपसमूहको मूल्यवृद्धि उच्च रहेको छ ।
काठमाण्डौ उपत्यकामा ७.९० प्रतिशत, तराइमा ५.६९ प्रतिशत, पहाडमा ५.०९ प्रतिशत र हिमालमा ५.०२ प्रतिशत मुल्यवृद्धि रहेको छ । २०७५ भदौमा यी क्षेत्रमा क्रमशः २.९८ प्रतिशत, ३.६८ प्रतिशत, ५.० प्रतिशत र ३.३५ प्रतिशत रहेको थियो ।
रेमिट्यान्स घट्यो
चालु आर्थिक वर्षको पहिलो २ महिनामा रेमिट्यान्स घटेको छ ।
राष्ट्र बैंकले रेमिट्यान्स आयात पोहोरको २ महिनाको तुलनामा ० दशमलव ३ प्रतिशतले घटेर १ खर्ब ५३ अर्ब ७३ करोडमा झरेको जनाएको छ । पोहोर यो समयमा रेमिट्यान्स साढे ३३ प्रतिशतले बढेको थियो ।
यस्तै अमेरिकी डलरमा रेमिट्यान्स १.३ प्रतिशतले कमी आएको छ । यस्तै २ महिनामा खुद ट्रान्सफर प्राप्ति शून्य दशमलव ८ प्रतिशतले बढेर १ खर्ब ७६ अर्ब ३९ करोड पुगेको छ ।
यस्तै २ महिनामा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ०.२ प्रतिशतले बढेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३९.० प्रतिशतले घटेको थियो । २ महिनामा पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पोहोरको सुरुका २ महनिामा भन्दा १०,३ प्रतिशतले बढेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.८ प्रतिशतले घटेको थियो ।