Logo
१२ श्रावण २०८१, शनिबार
(October 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति शी ४:५५ मा काठमाडौं ओर्लिने, यस्तो छ तालिका

काठमाडौं– भारतको चेन्नाइबाट नेपालका लागि उडेका चिनियाँ राष्ट्रपति शी चिनफिङ शनिवार अपराह्न ४:५५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गर्ने भएका छन् ।

विमानस्थलमा राष्ट्रपति शीलाई नेपाली सेनाले २१ तोपको सलामी दिने तय भएको छ । राष्ट्रपति शीको स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने तयारी छ ।

५:२० सम्ममा सलामी सकेर राष्ट्रपति शी सिधै सोल्टी होटल प्रस्थान गर्नेछन् । छोटो बसाइपछि उनी राष्ट्रपति भण्डारीसँग भेटवार्ताका लागि राष्ट्रपति भवन शीतल निवास पुग्ने कार्यक्रम रहेको सुरक्षा स्रोतले लोकान्तरलाई जानकारी दियो ।

राष्ट्रपति भण्डारीसँग आधा घण्टाको भेटपछि शी पुन: सोल्टी होटल फर्किने छन् । राष्ट्रपति शीको स्वागतका लागि राष्ट्रपति भण्डारीले आयोजना गरेको रात्रि भोजमा सहभागी हुनुपूर्व उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग छुट्टा–छुट्टै भेटवार्ता गर्नेछन् । उनीहरू दुवैले ७ सात मिनेट समय पाएका छन् ।

त्यसपछि राष्ट्रपति शी डिनरमा सहभागी हुनेछन् । जहाँ १ सय नेपालीसहित २ सय ५० जना पाहुना सहभागी हुनेछन् ।

रात्रिभोजमा सहभागी हुनेहरूलाई साढे ७ बजेभित्र हलमा पसिसक्न भनिएको छ । रात्रिभोज राति ९ बजेसम्म चल्नेछ ।

राष्ट्रपति शीले भोलि बिहान नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नेछन् । त्यसपछि प्रधानमन्त्री केपी शर्मासँग भेटवार्ता हुनेछ । दुवै भेट २० मिनेटको हुने परराष्ट्र स्रोतले बतायो ।

प्रधामनन्त्रीसँगको भेटपछि नेकपा सचिवालयका सदस्यहरूसँग राष्ट्रपति शीको भेटवार्ता हुनेछ । भेटपछि राष्ट्रपति शीको उपस्थितिमा नेपाल सरकार र चीन सरकारबीच केही सहमतिपत्र हस्तान्तरण गर्ने कार्यक्रम छ ।

राष्ट्रपति शीको समय अभावका कारण सम्झौता पत्रमा पहिल्यै हस्ताक्षर भइसकेको हुनेछ । सम्झौतापत्र हस्तान्तरण कार्यक्रम सकिएपछि दिवाभोज गरेर राष्ट्रपति शी दिउँसो १२:५० मा स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति: Oct 12, 2019

प्रतिक्रिया दिनुहोस्