Logo
११ श्रावण २०८१, शुक्रबार
(October 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामूख महरालाई तुरून्त राजीनामा दिन साझा पार्टीको माग

बलात्कारको आरोप लागेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरालाई तुरुन्त राजीनामा दिन साझा पार्टीले माग गरेको छ । बलात्कारको आरोपप्रति साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको भएको बताउँदै साझा पार्टीले हालसम्म प्राप्त सूचना र आरोपको गम्भीरतालाई हेर्दा सभामूख महरालाई राजीनामा दिन माग गरेको हो ।

पार्टी प्रवक्ता सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उनको राजीनामाले उनीमाथि लागेको आरोपको निष्पक्ष छानविन गर्न र घटनाको सत्यतथ्य उजागर गर्न सहयोग पुर्याउने छ । साथै, यस्तो अवस्थामा दिइएको राजीनामाले प्रतिनिधि सभाको गरिमालाई समेत कायम राख्न मद्दत गर्नेछ ।’

पार्टीले छानविन पश्चात दोषीलाई प्रचलित कानून बमोजिम सजायको माग पनि गरेको छ । ‘देशभरी बढ्दै गरेको महिल हिंसा र बलात्कारका घटनाहरूमा सरकार अझ कडाईका साथ पेश हुनु पर्नेमा सभामूखजस्तो गरिमामय पदमा आसीन व्यक्तिमाथि नै यस्तो आरोप लाग्नुले आम नागरिकमा कस्तो सन्देश जाला रु,’ विज्ञप्तिमा भनिएको छ ।

अहिले राज्यव्यवस्थाप्रति नागरिकको अविश्वास, आक्रोस र असंतुष्टि चरम सिमामा पुगेको बताउँदै पार्टीले दुई तिहाइ बहुमतसहितको स्थिर सरकारले मुलुक र नागरिकका आधारभूत समस्याहरु समाधान गर्नेछ भन्ने नागरिकको अपेक्षा घोर निरासा र अविश्वासमा रुपान्तरण भएको जिकिर गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अत्यन्त मर्यादित पदमा आसिन व्यक्ति यसरी गंभिर आरोपमा मुछिएर विवादित हुनु भनेको लोकतान्त्रिक व्यवस्था, वर्तमान सरकार र राज्यव्यवस्थाका मर्यादित संस्थाहरु समेत विवादित हुनु हो ।’

यसले सम्बन्धित व्यक्तिको निष्ठा, कर्तव्य र आचरणमा दीर्घकालीन प्रभाव पार्ने र व्यक्तिसँग जोडिएका लोकतान्त्रिक संस्थाहरुको विश्वसनीयता र मर्यादामाथि समेत गम्भीर आशंका र अविश्वास जन्माउने र नागरिकको आक्रोशलाई बढाउने ठहर पनि पार्टीले गरेको छ ।

प्रकाशित मिति: Oct 1, 2019

प्रतिक्रिया दिनुहोस्