Logo
१२ श्रावण २०८१, शनिबार
(September 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेलायत सरकारलाई अल्टिमेटम: भूतपूर्व गोरखा सैनिकहरु भोक हडताल बस्ने

बेलायती सरह पेन्सन लगायतका सेवा-सुविधा नेपालीलाई पनि दिनुपर्ने माग राखेर वर्षौंदेखि संघर्षरत भूतपूर्व ब्रिटिस गोरखा सैनिकले आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।

बेलायती सरकारविरुद्ध संघर्ष गर्दै आइरहेको गोर्खा सत्याग्रह संघर्ष समितिका अध्यक्ष ज्ञानराज राईले आफूहरूको चाहना संघर्ष नभएर वार्ता भएको बताएका छन् ।

असमान व्यवहार हटाउन बेलायत सरकारलाई गरेको पटक-पटकको आग्रह सुनुवाइ नभएको भन्दै उनीहरूले भोक हडतालमा उत्रिने चेतावनी दिएका हुन् ।

साउथ चाइना मर्निङ पोस्टसँग कुरा गर्दै उनले आफूहरूले नेपाल र बेलायती सरकारले वार्तामार्फत समाधान खोजोस् भन्ने चाहेको बताए । साउथ चाइना मर्निङ पोस्टका अनुसार, उनीहरूले बेलायती सरकारलाई माग पूरा गर्न आउँदो २४ अक्टुबरसम्मको समयसीमा दिएका छन् ।

उक्त समयसीमाभित्र पर्खने र त्यतिबेलासम्म पनि बेलायत सरकारले मागबारे सुनुवाइ नगरे भोकहड्तालमा उत्रिने उनीहरूको चेतावनी छ ।
‘नेपाल र बेलायतका दुवै सरकार हाम्रा मागबारे छलफल गरेर निष्कर्षमा पुगुन् भन्ने हाम्रो चाहना छ’, राईले बेलायत सरकारलाई चुनौती दिँदै चीनको साउथ मर्निङ पोस्टसँग भनेका छन् ।

संवादमार्फत समाधान गर्न दुई सरकारले उदासीनता देखाए सास रहेसम्म हडताल गर्ने चेतावनी उनले दिए । बेलायती गोरखा सैनिकको इतिहास लामो छ ।

पहिलो विश्वयुद्ध आफ्नो पक्षमा पार्न बेलायतले पहिलोपटक नेपाली प्रयोग गरेको थियो । त्यसयता उसको राष्ट्रियता र स्वाधीनताका लागि भर्ती भएर कैयन नेपालीले सेवा गरेका छन् ।

सैन्य सेवामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै नेपालीहरू त्यहाँको विभिन्न प्रतिष्ठित पदकबाट सम्मानित भएको इतिहास छ । यद्यपि, त्यहाँको सेनामा भर्ती हुने बेलायती र नेपालीबीच विभेदको गहिरो खाडल रहेको भन्दै भूतपूर्व बेलायती गोरखा सैनिकहरू रुष्ट छन् ।

उनीहरूले बेलायत सरकारको असमान व्यवहारविरुद्ध संघर्ष गर्दै आइरहेका छन् । यसअघिका दबावहरूले आफ्ना माग सुनुवाइ नभएपछि पछिल्लोपटक उनीहरूले भोक हड्तालको चेतावनी दिएका हुन् ।

प्रकाशित मिति: Sep 3, 2019

प्रतिक्रिया दिनुहोस्