Logo
१२ श्रावण २०८१, शनिबार
(September 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनतासँगको बाचा पुरा गर्दै मन्त्री पण्डित, २५ वर्षदेखीको अलपत्र सडक कालोपत्रे बन्दै

प्रेम गिरी/मोरङ,   निर्वाचनमा जनतामाझ गरेका प्रतिवद्धता अनुसार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफ्नो निर्वाचन क्षेत्रको पुर्वाधार विकासलाई तिब्रताका साथ अघि बढाएका छन् । उनले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र तराई मधेश समृद्धि कार्यक्रम मार्फत पूर्वाधार विकासलाई तिब्रताका साथ अघि बढाएका हुन् । उनकै पहलमा मोरङको निर्वाचन क्षेत्र नं. ६ स्थित पुष्पलालचोक–गछिया सडक पनि कालोपत्रे हुने भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको ग्रामिण सडक सञ्जाल अन्तर्गत २३.७ किलोमिटर पुष्पलालचोक–गछिया सडक कालोपत्रे हुने भएको छ ।
सो कालोपत्रे सडकको आइतबार एक भब्य कार्यक्रमकाबिच मन्त्री पण्डितले शिलान्यास गरे । बुढीगंगा गाउँपालिका स्थित कोयलपुरमा मन्त्री पण्डितले कालोपत्रे सडकको शिलान्यास गरेका हुन् । सो अबसरमा बोल्दै मन्त्री पण्डितले जनताको आधारभुत आवश्यकतालाई पहिले पुरा गर्ने प्रतिवद्धता अनुरुप पुष्पलाल चोक–गछिया सडक निर्माण सुरु गरिएको जानकारी दिए ।

उनले २५ वर्षदेखी आश्वासन मात्र पाउँदै आएका स्थानीय जनताका लागि आफ्नो पहलमा कालोपत्रे सडक निर्माण कार्य सुरु गर्न पाउँदा खुशि लागेको बताए । मन्त्री पण्डितले उक्त सडक समयमै सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिँदै स्थानीयलाई पनि काम समयमै सम्पन्न गर्न सहयाग र खबरदारी गर्न आग्रह गरे । उनले वर्तमान सरकारले मुलुकलाई विकास र समृद्धिको दिशामा अघि बढाउन लागि परेकाले सरकारको काममा जनताले पनि साथ दिने पर्ने बताए । कार्यक्रममा प्रतिनिभिसभा सदस्य अमनलाल मोदी, प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री जिवन घिमिरे, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य विनोद ढकाल, गोपी अछामी, महेश रेग्मी, नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेल, दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदार, बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझि, जनप्रतिनिधिहरु, स्थानीय समाजसेवी, बुद्धिजिवि सामाजिक क्षेत्रका अगुवा लगायत सवै दलका नेता कार्यकर्ताहरुको समेत उपस्थिती रहेका थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै नेकपा मोरङ जिल्ला अध्यक्ष ऋषिकेष पोख्रेलले पनि यो सडक निर्माण सम्पन्न भएपछि यहाँका स्थानीय बासिन्दालाई व्यवसायका र रोजगारीका लागि सहज हुने बताए । उनले यो ग्रामीण सडक बनेपछि यहाँका कृषिजन्य वस्तुको बजार व्यवस्थापनका लागि सहज हुने बताउँदै मन्त्री पण्डितलाई धन्यवाद व्यक्त गरे ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले यो महत्वपूर्ण सडक निर्माणका लागि मन्त्री लालबाबु पण्डितले बाटो खोलिदिनु भएकोले सबैलाई एकजुट भएर समयमै सम्पन्न गराउन सहयोग गर्न आग्रह गरे ।
त्यस्तै, नेकपा केन्द्रिय सदस्य विनोद ढकालले २५ वर्षअघि यश क्षेत्रका तात्कालिक एमालेका उमेदवार गुरु बरालले यो सडक निर्माण गर्ने भनेर सर्भे गरेपनी त्यसपछि कसैले सडक निर्माणमा चासो देखाएका थिएनन् । आज २५ वर्ष अघि तात्कालिक एमालेले देखेको सपना नेकपाले पूरा गर्न लागेकोमा मन्त्री लालबाबू पण्डितलाई धन्यवाद व्यक्त गरे । त्यस्तै, नेकपा केन्द्रिय सदस्य महेश रेग्मी , सांसद अमनलाल मोदि , दुहबी नगरपालिकाका प्रमुख बेद नारायण गच्छदारले सडक कालोपत्रे हुन लागेकोमा खुशी व्यक्त गर्दै मन्त्री पण्डितलाई आभार प्रकट गरे । दुहबी नगर प्रमुख वेदनारायण गच्छदारले शुभकामना मन्तब्य दिनु हुँदै दुहबी नगरपालिका र बुढीगंगा गाउँपालिका एक छिमेकी भएकोले बुढीगंगाका केही गाउँका मुख्य बजार दुहबी बजार भएकोले सो सडकको बिकास दुहबीको पनि बिकास भएको जनाउनु भयो ।

मन्त्री पण्डितको निर्वाचन क्षेत्र समेत रहेको सो सडकबाट क्षेत्र नं. ६ अन्तर्गत बुढीगंगा गाउँपालिका र शुन्दर हरैँचा नगरपालिकाका स्थानीय आदीवासी, जनजाती, थारु, मधेशीलगायत सवै जनता लाभान्वित हुने नेकपा प्रदेश कमिटी सदस्य सत्यनारायण चौधरीले बताए ।
उनले विगत २५ वर्षदेखी सो निर्वाचन क्षेत्रबाट विजयी सांसदहरुले आवश्वासन मात्र दिँदै आएपनि मन्त्री पण्डितले जनता माझ गरेको बाचा अनुरुप काम गरेको दावी गरे । सो सडक निर्माण भएपछी जनतालाई ठुलो राहत हुनेछ । सडक निर्माणले स्थानीय बजार व्यवस्थापन र कृषि उत्पादनले सहज बजार पाउने नेता चौधरीको भनाइ छ । उक्त सडक निर्माणले प्रदेश राजधानी र विराटनगर महानगरपालिकासँग सहज पहुँच स्थापित समेत गर्ने उनले बताए ।
सो सडक २ वर्ष भित्रमा निर्माण सम्पन्न गर्नेगरी ५२ करोड २४ लाख रुपैयाँमा लुम्बिनी सञ्जीवनी जेभिले ठेक्का लिएको छ । मन्त्री पण्डितले तराई मधेस समृद्धि कार्यक्रम तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आफ्नो निर्वाचन क्षेत्रमा दर्जनौं विकासका कामहरु अगाडि बढाईरहेका छन् । चुनावका बेला जनतासँग गरेको बाचा स्वरुप विकास र जनताको आधारभुत कामहरुलाई महत्व दिएर आफ्ना योजनाहरु अगाडि बढाईरहेकाले यतिवेला मोरङ क्षेत्र नं ६ का जनता हर्षित रहेको नेता चौधरीले बताए ।

प्रकाशित मिति: Sep 30, 2019

प्रतिक्रिया दिनुहोस्