Logo
१२ श्रावण २०८१, शनिबार
(September 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चाडपर्व लक्षित सुरक्षा व्यवस्थामा कडाई, ११ हजार प्रहरी हतियारसहित फिल्डमा

काठमाडौँ : उपत्यकासहित ७ वटै प्रदेशमा चाडपर्व सुरक्षाका लागि ४२ हजार प्रहरी जनशक्ति खटिएका छन् । ७ वटै प्रदेश प्रहरी कार्यालयमार्फत दसैं, तिहार, नेपाल संवत र छठलगायत पर्व सुरक्षा योजनाअन्तर्गत ४३ एसपी र १ सय २० डीएसपीसहित ४२ हजार ६ सय १९ जना प्रहरी परिचालन गरिएको छ ।

सुरक्षा योजना निर्माणमा खटिएका अधिकारीका अनुसार प्रहरी संगठनको कुल दरबन्दीको करिब ६० प्रतिशत जनशक्ति फिल्डमा खटिएका छन् । चाडपर्व सुरक्षाका लागि ७७ वटै जिल्लाबाट परिचालित जनशक्तिलाई ८ हजार २ सय ६ समूहमा तैनाथ गरिएको छ ।

सुरक्षा रणनीतिअनुसार अपुग २ हजार ५ सयभन्दा बढी जनशक्ति ७ वटै प्रदेशस्थित गण, गुल्म तथा तालिम केन्द्रबाट व्यवस्थापन गरिएको जानकारी प्रहरी मुख्यालयले दिएको छ । चोरी, डकैती, जुवातास, लुटपाट, कालोबजारी, सार्वजनिक यातायातका टिकटमा ठगी र सवारी कसुरलगायत अपराधका २४ क्षेत्र निर्धारण गरेर जनशक्ति तैनाथ भएकोमा मोबाइल, पिकेट, नियमित चेकिङ, सरप्राइज चेकिङ, पैदल गस्ती, क्युआरटी, साइकल गस्ती, नाकाबन्दी, सादा पोसाक, होटल तथा लज चेकिङलगायत १८ फरक–फरक भूमिकामा खटाइएको छ ।

पर्व अवधिभर अपराधमा संलग्नको पहिचान गर्न तथा आवश्यक सूचना संकलनका लागि भन्दै उपत्यकामा ९३ जना घुमुवा परिचालन गरिएको छ । काठमाडौंमा एक डीएसपी र २ इन्स्पेक्टरसहित ५०, भक्तपुरमा नायब निरीक्षक ९सई० सहित ३० र ललितपुरमा सईसहित १३ प्रहरी घुमुवाका रूपमा खटिएका छन् ।

‘देशभर पर्व सुरक्षा योजनाअन्तर्गत ४० हजारभन्दा बढी जनशक्ति तैनाथ गरिएको छ,’ प्रहरी प्रवक्ता विश्वराज पोखरेलले भने, ‘चाडपर्व मनाउन घर गएका आम नागरिक पुन: कार्यस्थल फिर्ता र स्थिति सामान्य अवस्थामा नआएसम्म पर्व सुरक्षाकै रणनीतिअनुसार आवश्यक सुरक्षा व्यवस्थापन मिलाइएको छ ।’

प्रहरी मुख्यालयका अनुसार सुरक्षा योजनाअन्तर्गत नै ११ हजार ४ सय १ प्रहरीलाई हतियारसहित फिल्डमा खटाइएको छ । प्रत्येक ४ देखि ६ जनासम्मको समूह बनाएर मातहत क्षेत्रको गस्तीमा प्रहरी खटाइएकामा प्रत्येक समूहमा कम्तीमा १ जना हतियारसहितको सुरक्षाकर्मी रहने छन् । १३ हजार ५ सय १६ प्रहरीलाई लाठीसहित परिचालन गरिएको छ ।

सबभन्दा बढी प्रहरी एक नम्बर प्रदेशअन्तर्गतका जिल्लामा ६ एसपी र २३ डीएसपीसहित ७ हजार ७ सय ७१ जना खटाइएको छ । ५ नम्बर प्रदेशअन्तर्गत ८ एसपी र १८ डीएसपीसहित ७ हजार १ सय ४३ प्रहरी पर्व सुरक्षा योजनाअन्तर्गत तैनाथ छन् ।

उपत्यका सुरक्षा योजनाअन्तर्गत महानगरीय प्रहरी कार्यालयले काठमाडौं, ललितपुर र भक्तपुरमा ५ एसपी र १७ डीएसपीसहित ६ हजार १ सय ५२ जनालाई खटाएको छ । २ नम्बर प्रदेशमा ८ एसपी र १५ डीएसपीसहित ५ हजार ७ सय ७४ प्रहरी खटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशमा ४ हजार २ सय २०, ३ नम्बर प्रदेश ९उपत्यकाबाहेक० मा ४ हजार ६९, सुदूरपश्चिम प्रदेशमा ४ हजार १२ र कर्णाली प्रदेशमा ३ हजार ४ सय ७८ प्रहरी खटिएका छन् । भारतबाट दसैं मनाउन घर फर्किएका नागरिकको जनधन सुरक्षामा ध्यान दिनसमेत प्रहरी मुख्यालयले भारतीय सीमा जोडिएका प्रदेश प्रहरी कार्यालयहरूलाई निर्देशन दिएको छ ।

सशस्त्र प्रहरी बल मुख्यालयले चाडपर्व सुरक्षा योजनाअन्तर्गत देशभर ९१ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ । पर्व मनाउन घर फर्कनेहरूको जनधन सुरक्षा र लामो तथा छोटो दूरीका सवारीमा आवागमन गर्ने नागरिकलाई लक्षित गरेर सशस्त्रले सहायता कक्ष राखेको हो ।

सशस्त्रका डीएसपी अजय छतकुलीका अनुसार प्रदेश १ मा २० र दुई नम्बर प्रदेशमा ४७ स्थानमा सहायता कक्ष स्थापना गरिएको छ । त्यस्तै तीन नम्बर र गण्डकी प्रदेशमा एक/एक, पाँच नम्बरमा १६ र सुदूरपश्चिम प्रदेशमा ६ ठाउँमा सहायता कक्ष राखिएको छ ।

प्रकाशित मिति: Sep 29, 2019

प्रतिक्रिया दिनुहोस्