Logo
१२ श्रावण २०८१, शनिबार
(September 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विपन्न जेष्ठ नागरिकलाई घटस्थापनादेखि हवाई भाडामा छुट, यस्तो छ आयोनको निर्णय

काठमाडौं : आन्तरिक उडानका सबै वायुसेवा कम्पनीले विपन्न वर्गका जेष्ठ नागरिकलाई मात्र भाडामा ५० प्रतिशत छूट दिने भएका छन् ।

वायुसेवा संचालक संघको बिहीबार बसेको बैठकले विपन्न जेष्ठ नागरिकलाई मात्र छूट दिने निर्णय गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिका सबै नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छूटको घोषणा गरेका थिए । मन्त्रीको घोषणालाई शुरुमा विरोध गरेका वायुसेवा कम्पनीले अहिले भने शर्तसहित समर्थन गरेका हुन् ।

छूट हवाई भाडाको सबैभन्दा माथिल्लो दरबाट मात्र लागु हुने र ठूला विमानस्थलमा प्रतिदिन प्रतिसेक्टरमा २ जना विपन्न जेष्ठ नागरिकलाई मात्र यो सुविधा उपलब्ध गराउने संघका अध्यक्ष क्या. रामेश्वर थापाले जानकारी दिएका छन् ।

साना विमानस्थलमा भने प्रतिदिन प्रतिसेक्टर १ जनाका लागि मात्र यस्तो सुविधा उपलब्ध हुने भएको छ । अब जेष्ठ नागरिकले छूट पाउन भने हवाई कम्पनीको काउन्टर मै उपस्थित भई आफू विपन्न भएको स्वघोषणा गर्नुपर्ने शर्त कम्पनीहरुले राखेका छन् ।

यस्तो छ आयोनको निर्णय :

७० वर्ष माथिका विपन्न जेष्ठ नागरिकले हवाई भाडामा ५० प्रतिशत छूट पाउन सम्बन्धित वायुसेवा कम्पनीको कार्यालयमा उपस्थित भई स्वयंले आफू विपन्न भएको स्वघोषण गर्नुपर्ने छ ।

उक्त छुट सुविधा अपर लिमिटको भाडादरमा मात्र लागू हुनेछ ।

ट्रंक रुटमा हवाई सेवा सञ्चालन गर्ने वायुसेवा कम्पनीहरुले प्रतिदिन प्रतिसेक्टरमा २ जना विपन्न जेष्ठ नागरिकलाई मात्र यो सुविधा उपलब्ध गराउने छन् ।

स्टल रुटमा हवाई सेवा सञ्चालन गर्ने वायुसेवा कम्पनीहरुले प्रतिदिन प्रति सेक्टरमा १ जना विपन्न जेष्ठ नागरिकलाई मात्र यो सुविधा उपलब्ध गराउने छन् ।

यो छुट असोज १२ घटस्थापनाको दिनबाट लागु हुनेछ ।

प्रकाशित मिति: Sep 27, 2019

प्रतिक्रिया दिनुहोस्