Logo
२३ बैशाख २०८१, आईतबार
(September 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

BJP को मातृ संस्था RSS प्रचार प्रमुखले काठमाडौंं आएर भने-“कश्मिरबारे कसैले टाउको दुखाउनु पर्दैन”

भारत स्थित सत्तासीन भारतीय जनता पार्टी BJP को मातृ संस्था राष्ट्रिय स्वयंसेवक संघ RSS का प्रचार विभाग प्रमुख अरुण कुमारले जम्मुकश्मिरबारे कसैले टाउको दुखाउनु पर्ने आवश्यक नरहेको बताएका छन् ।

“यो भारतको आन्तरिक मामिला हो यसबारे अरुले टाउको दुखाउनु जरुरी छैन” काठमाडौंमा आयोजित अरुण कुमारले भने “कश्मिरमा पैसा भारतको, शासन भारतको, निर्वाचन भारतको अनि हामी त्यसबारे कुनै निर्णय गर्दा अरुलाई किन सोध्ने ?” उनले भारतको वास्तविक समस्या पाकिस्तान भएको बताएका छन् ।

बिहिबार नीति अनुसन्धान प्रतिष्ठान र नेशनल ल कलेजले संयुक्त रुपमा आयोजना गरेको आर्टिकल ३७० अफ दी कन्सिटिट्युसन अफ इन्डियाः पर्सेप्सन एन्ड रियालिटी विषयक अन्र्तक्रियामा बोल्दै जम्मु काश्मिरबारे भारत सरकारले ३७० धारा खारेज गर्ने निर्णय गरेपछि पाकिस्तान संयुक्त राष्ट्रसंघ या कुनैपनि अन्तर्राष्ट्रिय संस्थामा जानु औचित्यहीन हुने जिकिर गरे । उनले भने,’युएनमा काश्मिरको मामलामा जाने पाकिस्तानको कदम असान्दर्भिक भइसकेको छ ।’

पाकिस्तानले जम्मु काश्मिरलाई दुनियाँको कुनै वैधानिक स्थानमा दाबी नगरेको बताए । उनले प्रश्न गरे, ‘के पाकिस्तानले कहीं जम्मु काश्मिरमा आफ्नो वैधानिक दाबी प्रस्तुत गर्न सकेको छ ?’ ‘भारत र पाकिस्तानबीच १९७२ मा भएको सिमला सम्झौता अनुसार दुई देशबीच उत्पन्न हुने कुनैपनि समस्या द्धिपक्षीय छलफलबाट समाधान गर्ने उल्लेख भइसकेको छ,’ अरुण कुमारले भने, ‘सम्झौता अनुसार पाकिस्तान यस मामलामा युएन पनि जान मिल्दैन ।’

पाकिस्तानसँग हरेक मामलामा कुराकानी गरेर समस्या समाधान गर्न खोज्दा भारतलाई मात्र आतंकवाद मिलेको बताए । उनले भने, ‘हामीले कुराकानीका लागि वातावरण बनायौं तर जवाफमा आतंकवादी हमला मात्र मिल्यो ।’

जम्मु काश्मिरबारे भारत सरकारले चालेको कदमको संसारभरबाट समर्थन र स्वागत आइरहँदा दुनियाँको एउटा देशलाई मात्र टाउको दुखाई भएको बताए । ‘भारतले सँसारभरबाट समर्थन पाउने क्रम चलिरहेको छ र यो दुनियाँभरबाट आउनुपर्छ,’ उनले भने, ‘जम्मु काश्मिरको ३७० धाराबारे पाकिस्तानले मात्र प्रश्न उठाएको छ बाँकी विश्व भारतको साथमा छ ।’

जम्मु काश्मिर भारतको हिस्सा हो भनी पाकिस्तानले भन्नुपर्ने उनको जोड थियो । उनले भने, ‘भारतको आन्तरिक मामलामा नभई पाकिस्तानले आफ्नो देशको विकासमा आफूलाई केन्द्रित गरोस् ।’

१५ वर्ष जम्मु काश्मिरमा बसेर त्यहाँको अवस्था र यथार्थबारे अध्ययन गरेका अरुण कुमारले पाकिस्तानबाट जम्मु काश्मिरमा दुईपटक र चीनबाट एक पटक हमला भएको तथ्य प्रस्तुत गरे । जम्म काश्मिरबारे यथार्थ जानकारीमा नआएकाले गलत सन्देश प्रवाह गर्न खोजिएको बताए । उनले भने, ‘कश्मिर जम्मु र कश्मिर होइन । मुस्लिम कश्मिर भन्ने अवधारणा बनेको छ । १५ हजार वर्गकिलोमिटर मात्र काश्मिर हो ।’

काश्मिरको भू भाग मात्र १५ प्रतिशत रहेको र बाँकी ८५ प्रतिशत जम्मु र र लदाख रेहेको बताए । ८५ प्रतिशत जम्मु र लदाखमा हिन्दु र बुद्ध धर्मालम्बीको बहुमत रहेको र ती क्षेत्रमा भारतविरुद्ध कुनै प्रदर्शन नभएको बताए । उनले भने, ‘जम्मुमा डोगरा, गुजर मुस्लिम छन् । गुजर भारतकै पक्षमा छन् । पहाडी राजपूत हुन् जसलाई मुसलमान बनाइएको थियो । सिना समुदाय छन् । उनीहरु मध्ये एकजना पनि आतंकवादी गतिविधिमा संलग्न छैनन् । ‘

जम्मु काश्मिरमा फरक भाषा र समुदाय रहेको उल्लेख गर्दै आठवटा मात्र राज्यको राष्ट्रिय भाषा रहेको बताए । जम्मु काश्मिरबारे धेरै मिथक बनाइएको चर्चा गरे । जम्मु काश्मिरमा भारतको संविधान पूरा लागू हुननसक्दा स्वार्थी समूह त्यहाँको सत्तामा आएर काश्मिरी जनतालाई दुःख दिएको बताए ।

३७० धारा को ३५ ए ले भारतको अन्य राज्यको जनता त्यहाँको नागरिक हुन नसक्ने अवस्था रहेकोमा उक्त धाराको खारेजीले यो अवस्था अन्त भएको बताए । उनले भने, ‘सफाई कर्मचारीको नोकरीभन्दा माथिको अवसर रहन्नथियो । जम्मु काश्मिरको नारीले अन्य राज्यको केटासँग विवाह गरेमा उसको अधिकार राज्यभित्र समाप्त हुन्थ्यो । अब त्यो रहेन ।’

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले काश्मिर भारतको अभिन्न अंग रहेको र रहिरहने बताए । उनले काश्मिरको विषयमा तोडमोड गर्ने गतिविधि भइरहको बताए ।

कार्यक्रममा नेष्नल ल कलेजका कार्यकारी निर्देशक डा. रामकृष्ण तिमिल्सिनाले विषयबारे टिप्पणी गरेका थिए । नीति अनुसन्धान प्रतिष्ठानका निर्देशक डा. दिपक अधिकारीले धन्यवादज्ञापन गरेका थिए ।

कार्यक्रमको सभापतित्व प्रतिष्ठानकी महासचिव नलिनी ज्ञवालीले गरेकी थिइन् ।

प्रकाशित मिति: Sep 27, 2019

प्रतिक्रिया दिनुहोस्