Logo
१२ श्रावण २०८१, शनिबार
(September 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग लगाउने सभामुख पेलोसीको घोषणा

अमेरिकाको प्रतिनधि सभाकी प्रवक्ता नेन्सी पलोसीले राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगको प्रक्रिया सुरु गर्ने घोषणा गरेकी छिन् ।

उनीमाथि युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीमाथि डेमोक्रेटिक प्रतिद्वन्द्वी जो बाईडन र उनका छोराविरुद्ध भ्रष्टाचारको दाबीमाथि अनुसन्धान सुरु गर्न दबाब दिइएको आरोप छ, जसलाई ट्रम्पले अस्विकार गर्दै आएका छन् । यद्यपि, उनले आफ्नो राजनीतिक प्रतिद्वन्द्वीबारे युक्रेनका राष्ट्रपतिसँग चर्चा गरेको भने स्विकारेका छन् ।

नेन्सी पलोसीले ट्रम्पले अमेरिकाको संविधानको घोर उल्लंघन गरेको आरोप लगाएकी छिन् । उनले भनिन्, ‘राष्ट्रपति जवाफ दिन तयार हुनुपर्छ, कानूनभन्दा माथि कोही पनि छैन ।’

ट्रम्पलाई पदबाट हटाउने कुनै पनि कोसिसका लागि २० रिपब्लिकन सांसदको आवश्यकता पर्छ । अहिलेसम्म अमेरिकाका कोही पनि राष्ट्रपतिलाई महाभियोगमार्फत् हटाइएको छैन ।

जो बाइडनले पनि महाभियोगको सुरु भएको प्रक्रियालाई समर्थन गरेका छन् । उनले भने, ‘ट्रम्पमाथि महाभियोग चलाउनु दुर्भाग्यपूर्ण हुनेछ, तर उनको आफ्नै व्यवहारले यस्तो गर्नुपरेको हो ।’ पूर्व उपराष्ट्रपति जो बाइडन सन् २०२० मा हुने राष्ट्रपति चुनावमा ट्रम्पलाई टक्कर दिन सक्छन् । ट्रम्पले महाभियोग उनका लागि राजनीतिक रुपमा ‘सकारात्मक हुने’ बताएका छन् ।

तल्लो सदनमा १४५ देखि २३५ डेमोक्रेट्स महाभियोगको समर्थनमा भएको बताइन्छ । तर महाभियोगको प्रक्रिया तल्लो सदनबाट पारित भए पनि यो रिपब्लिकनको बहुमत भएको सिनेटबाट पास हुन मुश्किल छ र ओपिनियन पोलका अनुसार अमेरिकाका मतदाताबीच यो खासै लोकप्रिय छैन ।

के हो पूरा घटना ?

गत हप्ता अमेरिकाको गुप्तचर अधिकारीले सरकारका एक वाचडगलाई ट्रम्पले एक विदेशी नेतासँग कुराकानी गरेको बारे जानकारी दिएका थिए । पछि ती विदेशी नेता युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की हुन् भनेर पत्ता लाग्यो ।

इन्टेलिजेन्स इन्स्पेक्टर जनरलले सूचना प्रदाता (ह्विसल ब्लोअर) को उक्त जानकारी ‘तत्काल ध्यानमा लिन योग्य’ र विश्वसनीय मानेका थिए । उक्त जानकारीको कपीलाई डेमोक्रेट्सले संसदमा माग गरेका थिए तर ह्वाइट हाउस र न्याय विभागले यसको प्रति प्रदान गर्न अस्विकार गरेका थिए ।

प्रकाशित मिति: Sep 25, 2019

प्रतिक्रिया दिनुहोस्