Logo
१२ श्रावण २०८१, शनिबार
(September 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वच्छ मासुको पोस्टर सार्वजनिक भए लगत्तै विवादमा, पशु विभागले माग्यो माफी

काठमाडौं : पशु सेवा विभागले दशैंलाई लक्षित गर्दै हालै मात्र सार्वजनिक भएको पोस्टरमा नेपालको राष्ट्रिय जनावर र हिन्दू धर्मावलम्बीले लक्ष्मी मानेर पूजा गर्ने गाईको समेत तस्वीर समावेश गरिएपछि उक्त पोस्टर विवादमा तानिएको छ ।

मासुजन्य पदार्थको रुपमा खसी, बंगुर, भेडा, माछासँगै गाईको तस्वीर राखिएपछि विवाद भएको हो ।

‘बधशालादेखि भान्सासम्म स्वस्थ र स्वच्छ मासु’ शीर्षक राखिएको उक्त पोस्टर राष्ट्रिय जनावर र हिन्दू धर्मावलम्बीले लक्ष्मी मानेर पूजा गर्ने गाईको पनि तस्विर राखिएको थियो ।

पोस्टरका अन्य तस्वीरहरुमा पनि विचार र्पुयाइएको छैन । स्वच्छ मासु भनिएको पोस्टरमा पाठाले दूध खाइरहेको बाख्राको तस्वीर पनि राखिएको छ । विभागका प्रवक्ता डा.चन्द्र ढकालले जनचेतनाको लागि पोस्टर डिजाइन गरिएको बताए । ‘कुनै गलत नियत राखेर यो काम गरिएको होइन,,’ उनले भने ।

चौतर्फी विरोध भएपछि विभागले क्षमा माग्दै सुधार गरेको छ । विभागका महानिर्देशक डा. वंशी शर्माले एक सूचना जारी गर्दै माफी मागेका हुन् । भूलवस गाईको तस्बिर पर्न गएको भन्दै विभागले क्षमा याचना गरेको हो ।

यस सम्वन्धमा मंगलबार बिहान बसेको बैठकमा समेत छलफल भएको छ । बधशाला र मासु पसलमा वितरण गर्न बनाइएको ती पोष्टरबाट गाईको तस्वीर हटाउने गरी निर्णय भएको ढकालले बताए । विभागले हाल बजारमा पठाएको पोस्टर संकलन गरिरहेको छ ।

प्रकाशित मिति: Sep 24, 2019

प्रतिक्रिया दिनुहोस्