Logo
६ जेष्ठ २०८१, आईतबार
(September 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब फाइल बोकेर वैदेशिक रोजगार कार्यालयमा पुग्नु पर्दैन : श्रममन्त्री

काठमाडौं : श्रममन्त्री गोकर्ण बिष्टले अब म्यानपावरहरुले आफ्नो कार्यशैली बदल्नुपर्ने बताएका छन् । मन्त्री बिष्टले गलत क्रियाकलापहरु नगर्न आग्रह गर्दै उनले शैली बदलेर अघि बढ्दा कामदारको मात्रै नभएर व्यवसायीको पनि हित हुने बताए ।

वैदेशिक रोजगार व्यवसायी संघको २७ औं साधारणसभाको उद्घाटन समारोहमा बोल्दै मन्त्री बिष्टले म्यानपावरहरुले आफ्नो कार्यशैली बदल्नुपर्ने बताउँदै अब सरकारी कर्मचारी र म्यानपावर व्यवसायीको भेट नै नहुने बताए ।

केही दिनभित्रै सुरु गर्न लागिएको अनलाइन प्रणालीलाई ईंगित गर्दै उनले यस्तो दावी गरेका हुन् । बिष्टले व्यवसायीलाई फाइल बोकेर वैदेशिक रोजगार कार्यालयमा पुग्नुपर्ने बाध्यता हटाइने विश्वास दिलाए ।

मन्त्री विष्टले वैदेशिक रोजगारीमा रहेको समस्या हटाउन सरकारले चालेका कदममा व्यवसायीले साथ दिनुपर्ने बताए । ‘हामीले सँधै व्यवसायीका कुरा सुनेका छौं, तर आफ्ना समस्या राख्दा औचित्यपूर्ण हुनुर्पयो,’ उनले भने, ‘सरकार सबैको अभिभावक हो, तपाईंहरुको पनि हो, तर वैदेशिक रोजगारीमा जाने कामदारको समस्या प्राथमिकताका विषय हुन् ।’

उनले विदेश जाने युवाप्रति व्यवसायीको पनि दायित्व हुने भन्दै त्यसबाट पछि हट्न नपाइने बताए ।

‘सुशासन सुदृढीकरणका हिसावले मन्त्रालय अन्तरगतका निकायमा आन्तरिक शुद्धीकरण गरिरहेका छौं, हामीले हाम्रा निकायमा हुने भ्रष्टाचार अनियमिततामा शून्य सहनशीलताको नीति लिएका छौं,’ मन्त्री बिष्टले भने, ‘अब व्यवसायीहरु पनि शुद्धीकरण हुनुपर्छ ।’

प्रकाशित मिति: Sep 24, 2019

प्रतिक्रिया दिनुहोस्