Logo
५ जेष्ठ २०८१, शनिबार
(September 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको लागि ‘एक्सन रुम’ फलदायी : राष्ट्रिय गौरबका आयोजनाको प्रत्यक्ष अनुगमन

काठमाडौं : जेठ १४ गतेबाट संचालनमा आएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘एक्सन रुम’ बाट राष्ट्रिय गौरबका आयोजनाको प्रत्यक्ष अनुगमन गर्न सकिने भएको छ ।

कार्यालयमा तयार भएको आधुनिक प्रविधियुक्त कक्षबाट गौरवका आयोजनाको प्रत्यक्ष अनुगमन (लाइभ मनिटरिङ) गर्ने प्रणाली कार्यान्वयनमा आएको हो ।

यो कक्ष जेठ १५ गतेबाट सञ्चालनमा आएको थियो । तर, आयोजनाहरुको लाइभ फुटेज कनेक्ट गर्न बाँकी थियो । एक्सन रुममा तीनवटा ठूला मनिटर जडान गरिएको छ । यो कक्षसँग जोडिने गरी प्रदेशका मुख्यमन्त्री तथा गौरवका आयोजना प्रमुखकोमा ‘टेलिप्रिजेन्स सिस्टम’ जडान गरिएको छ । टेलिप्रिजेन्स भनेको ‘भिडियो कन्फरेन्सिङ सिस्टम’ हो । इन्टरनेटका माध्यमबाट यसमा भिडियो कुराकानी हुन्छ ।

यो कक्षबाट प्रधानमन्त्री केपी शर्मा ओलीसहित मुख्य सचिव तथा सचिवहरुले आयोजना प्रमुखसँग ‘लाइभ’ कुराकानी र छलफल गर्न सक्ने कार्यालयका प्रवक्ता तथा सहसचिव यमलाल भुसालले जानकारी दिए ।‘एक्सन रुममा बसेर गौरवका अयोजनाहरु हेर्न सकिने भएको छ, आवश्यक देखिएमा प्रधानमन्त्री तथा सचिवज्युहरुले आयोजना प्रमुखसँग यहाँबाटै सीधै रिर्पो्टिङ लिन सक्नुहुन्छ,’ भुसालले भने ।

आयोजनाहरुको प्रगतिको अवस्था हेरेर आवश्यक निर्देशन गर्न प्रधानमन्त्रीका लागि यो एक्सन रुम निकै फलदायी हुने भुसालले बताए । कार्यालयले आफ्नै सर्भर राखेर तयार गरिएको यो कक्षलाई ठूला आयोजनाको भौतिक प्रगति हेर्न र परेका समस्या सल्टाउन उपयोग गरिने बताइएको छ ।

राष्ट्रिय गौरवका मुख्य ११ वटा आयोजना यो कक्षसँग जोडिएका छन् । आयोजनाको मुख्य कार्यक्षेत्रमा सीसी क्यामेरासहितको यो सिस्टम जोडिएको छ । यहाँ जोडिने सीसी क्यामेराको लाइभ फुटेज २४ घण्टा नै प्रधानमन्त्री कार्यालयको यो सिस्टममा आइरहन्छ । ‘चाहेको बेला हामी आयोजनाको अनुगमन कार्यालयमा बसेर गर्न सक्छौं,’ उनले भने, ‘यो पछि आयोजनाहरुमा हुने कार्य सम्पादन सुध्रन्छ भन्ने अपेक्षा छ ।’

जलविद्युत, खानेपानी र सिञ्चाइँ आयोजनाको हेडवर्क्स, टनेल, विमानस्थलहरुको मुख्य निर्माणस्थल, राजमार्गहरुको मुख्य खण्डमा सीसी क्यामरासहितको आधुनिक प्रणाली जोडिएको छ । प्रधानमन्त्रीले चाहेका बेला प्रत्यक्ष रुपमा आयोजनाको कामको निरीक्षण एक्सन रुमबाटै गर्न सक्छन् ।

यो रुमसम्म कनेक्ट हुने राष्ट्रिय गौरवका आयोजनाको ‘लाइभ फुटेज’ प्रधानमन्त्रीले आफ्नै मोबाइलमै पनि हेर्न सक्नेछन् । यसका लागि प्रधानमन्त्रीले प्रयोग गर्न छुट्टै मोबाइल एप बनाइएको प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार अस्गर अलीले जानकारी दिए ।

मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, गौतबुद्ध अन्तराष्ट्रिय विमानस्थल, भेरी–बबई डाइभर्सन आयोजना, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र सिक्टा सिञ्चाइ आयोजनाको निर्माणस्थलमा यो सिस्टम जोडिएको छ । यस्तै रानीजमरा सिञ्चाइ आयोजना, पोखरा क्षेत्रीय अन्तर्रा्िष्ट्रय विमानस्थल, मध्यपहाडी लोकमार्ग, हुलाकी लोकमार्ग र काठमाडौं–तराई द्रुतमार्ग आयोजनाको प्रत्यक्ष निगरानी पनि यसै प्रणालीबाट गर्न थालिएको छ ।

प्रकाशित मिति: Sep 23, 2019

प्रतिक्रिया दिनुहोस्