Logo
५ जेष्ठ २०८१, शनिबार
(September 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली सरकारसँग गरिएका सम्झौता कार्यान्वयन हुनेमा चीन विश्वस्त

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दुईतिहाइ बहुमत प्राप्त सरकार बनेपछि चिनियाँ शर्त पूरा भएको छ ।

राजनीतिक स्थिरतासँगै चीन नेपाल सरकारको नजिक भएको छ । केही दिनअघि चिनियाँ विदेशमन्त्री वाङ यीले काठमाडौंको भ्रमण गरे, आगामी असोज २७ गते राष्ट्रपति सी जिनफिङ नेपाल आउने मिति तय गरिएको छ ।

चीनले राष्ट्रपतिको भ्रमणका लागि राजनीतिक स्थिरता किन खोज्छ ?

यसअघि २३ वर्षसम्म चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण भएको छैन । चीन चाहन्छ – दुई देशबीच बनेको समझदारीले मूर्तरुप पाओस्, द्विपक्षीय सम्झौता कार्यान्वयन होउन्, दुवै देशबीच सहयोग र सौहार्दता प्रस्ट देखियोस् । अस्थिर सरकार हुँदा सरकारी प्राथमिकता फेरिने र समझदारी कार्यान्वयनमा जटिलता देखिने समस्या रहन्छ ।

ओली सरकारसँग गरिएका सम्झौता कार्यान्वयन हुनेमा चीन विश्वस्त देखिएको छ । ओली सरकारले समेत समृद्धिको नारालाई कार्यान्वयन गरेर देखाउन चीनको सहयोग चाहेको छ । दुवैका राष्ट्रिय स्वार्थ र हित मिलेका छन् । तसर्थ यसपालि हुने राष्ट्रपति सीको नेपाल भ्रमण ‘मेघा’ हुने आकलन कूटनीतिक वृत्तमा हुन थालिएको छ ।

नेपालबाट के चाहन्छ चीन ?

नेपालबाट चीनले के चाहन्छ ? नेपाल चीनको छिमेकी भएकाले विशेष अर्थ राख्छ । तसर्थ चीनले नेपालबाट दुई कुराको अपेक्षा राख्छ – १. नेपालले ‘एक चीन नीति’लाई मान्दै चीन विरोधी गतिविधि हुन नदिने ।

२. चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) मा नेपालको आवद्धता ।

चीनको पहिलो अपेक्षामा नेपाल पहिल्यैदेखि कटिवद्ध छ । नेपालले पहिल्यैदेखि छिमेक धर्म निभाउँदै आएको र नेपालमा चीन विरोधी गतिविधि हुन नदिन भरमग्दुर प्रयास गरिरहेकोमा चीन ढुक्क छ । सम्भावित गतिविधिबारे नेपाल–चीनबीच सूचना आदानप्रदान समेत हुने गरेका छन् ।

दोस्रो बीआरआई सम्बन्धी अपेक्षा समेत नेपालले पूरा गरेको छ । नेपाल बीआरआईमा आवद्ध भइसकेको छ । बीआरआई परियोजनामा भएर चिनियाँ सहयोग नेपाल भित्रिँदा नेपाललाई नै फाइदा हुने र विकास देखिने भएकाले ओली सरकारले यसलाई समेत प्राथमिकतामै राखेको छ ।

सीको भ्रमणबाट नेपालले के पाउँछ ?

ओली सरकारले जनतामा समृद्धिको सपना बाँडेको छ । चीनतिर व्यापारिक नाका खोल्ने र चिनियाँ रेल भित्र्याउने ओली सरकारको सपना जनतामा लोकप्रिय छ ।

भारतले अघोषित नाकाबन्दी गरेपछि त्यसको विरोध गरेबापत राष्ट्रवादी नेताका रुपमा उदाएका केपी शर्मा ओलीले गरेको चिनियाँ नाका खोल्ने वाचालाई समेत जनताले उत्तिकै रुचाएका छन् । यी वाचा र प्रतिबद्धता पूरा गर्न ओली सरकारका लागि सीको भ्रमण फलदायी हुने आशा गरिएको छ ।

सीको भ्रमणका क्रममा केही दीर्घकालीन महत्वका परियोजनामा सहयोग सम्झौता हुने जनाइएको छ । सहयोग आदानप्रदानका विषयलाई यकिन गर्न दुवै देशका परराष्ट्र मन्त्रालयका अधिकारीले आवश्यक तयारी गरिरहेका छन् ।

विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा समेत राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ सहयोग र नेपाली परियोजनाबारे छलफल भएको थियो ।

विभिन्न मन्त्रालयसँग सम्बन्धित विषयमा सम्बन्धित मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीबीच निरन्तर छलफल र तयारी भइरहेको सरकारी अधिकारी बताउँछन् । बहुचर्चित केरुङ–काठमाडौं रेलमार्ग निर्माणको सम्झौतामा सी भ्रमणकै बेला हस्ताक्षर गर्ने गरी तयारी भइरहेको छ ।

मदन भण्डारी विश्वविद्यालय, अरनिको राजमार्ग स्तरोन्नति, अपर अरुण र तमोर जलविद्युत्, रसुवागढी-काठमाडौं सडकमार्ग, किमाथांका र कोरला नाका खोल्ने, काठमाडौं चक्रपथको विस्तार गर्ने लगायतका विषयमा चीनसँग सहयोग सम्झौता हुने जनाइएको छ ।

विदेशमन्त्री वाङको भ्रमणका क्रममा ठूलो सहयोग सम्झौता नभएको भन्दै आलोचना भएको थियो । तर सी भ्रमणका क्रममा सम्झौता गर्ने गरी ठूला परियोजना थाती राखिएको र वाङको भ्रमण सी भ्रमणको तयारीमै केन्द्रित भएकाले ठूलो सहयोग आदानप्रदान भएको थिएन ।

सी भ्रमण र द्विपक्षीय सहयोग आदानप्रदानले नेपाल-चीन सम्बन्धलाई थप उचाइ दिने विश्लेषण कुटनीतिक वृत्तमा भइरहेको छ ।

प्रकाशित मिति: Sep 23, 2019

प्रतिक्रिया दिनुहोस्