Logo
१२ श्रावण २०८१, शनिबार
(September 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाजुलाई खुकुरी प्रहार गरेपछि भाइले गरे आत्महत्या

प्रदेश १स्थित इलाममा आइतबार एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन् । इलाम सन्दकपुर गाउँपालिका-१ झ्याउपोखरी बस्ने ४२ वर्षीय बुद्धवीर राईले आफ्नै ६४ वर्षीय दाइ विष्णु राईलाई खुकुरी प्रहार गरेर आफूले आत्महत्या गरेका हुन् ।

दाजु विष्णु घर नजिक रहेको आफ्नै बारीमा घाँस काटिराखेको अवस्थामा भाइले आएर एक्कासि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारीले जानकारी दिए । घाइतेको बाँया आँखाको माथि कञ्चटमा काटिएको र दाहिने कानको छेउमा बाहिरी चोट लागेको छ ।

घटनालगत्तै पुगेको प्रहरी चौकी बन्दुकेका प्रहरीको सहयोगमा उनको उपचार गर्न इलाम अस्पताल ल्याइएको थियो । इलाममा उपचार सम्भव नभएपछि झापातर्फ लगिएको छ ।

घाइतेको अवस्था गम्भीर रहेको छ । खुकुरी प्रहार गर्ने व्यक्तिको खोजतलास गर्ने क्रममा घटनास्थलदेखि करीब ३०० मिटर पर गोगुनको रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । शव परीक्षणका लागि इलाम अस्पतालमा ल्याइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: Sep 23, 2019

प्रतिक्रिया दिनुहोस्