Logo
२० बैशाख २०८१, बिहीबार
(September 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भाइरल ‘दोहोरी गायिका कमला’ को अब गीत रेकर्डिङ गर्ने योजना

निलकन्ठ नगरपालिका संकोष, धादिङकी कमला घिमिरे उमेरले भरखर ११ लागिन् ।

उनको चर्चा ब्यबसायिक लोक दोहोरी कलाकार भन्दा कम छैन । आफुलाई लोकदोहोरीमा अब्बल मान्ने धेरैलाई यी सानी गायिकाले दोहोरीमा हराउँदै आएकी छिन् ।

गत साता लोक दोहोरी गायक राजु परियारसँग यी गायिकाले लोक दोहोरी गानयमा प्रतिस्पर्धा गरिन् ।

आधा घन्टा भन्दा लामो समयको दोहोरीमा गायक राजु परियारलाई यी बाल गायिकाले आच्छु आच्छु पारिन् ।

दोहोरी खेल्दा उनी जस्तो गीतको पनि निकै कडा तुक्का फकाउने गर्छिन ।

यही कारण पनि उनी चर्चित भएकी हुन् । राजु परियार मात्र हैन, अहिले चर्चामा रहेको कैयौं लोक दोहोरी गायकहरुसँग यी बाल गायिकाले दोहोरी खेलिसकेकी छिन् ।

कतिपय गायकहरुलाई त यी गायिकाले दोहारीमा हराएकी छिन् । यी बालगायिका अहिले धादिङबेसीबाट नजिकै संकोष स्थित पशुपति माविमा कक्षा ६ मा पढ्छिन् ।

उनका दोहोरी गीतहरु राष्ट्रिय टेलिभिजनमा आउन थालेपछि उनी आफ्नो स्कुल मात्र हैन, देश बिदेशमै लोकप्रिय भएकी छिन् । स्कुलमा उनी सेलिब्रेटीको रुपमा चिनिएकी छिन् ।

अझ दिन दिनै कलाकारदेखि पत्रकारहरु यी बालगायिकालाई भेट्न आउँदा कमलाको व्यस्तता बढेकोे छ । ८ वर्षको उमेर देखि नै दोहोरी प्रतिस्पर्धामा उत्रेर धादिङमा चिनिएकी यी बालिकाले अझै आफ्नो स्वरमा गीत रेकर्ड गराउन सकेकी छिन् ।

पशुपति मावि संकोषका शिक्षक दीपक सिम्खडाका अनुसार बाल गायिका कमलाको आर्थिक अबस्था कमजोर छ । त्यसैले उनले आफ्नो पैसामा गीत रेकर्ड गराउन नसकेकी हुन् ।

‘उनलाई स्कुलले गीत रेकर्ड गराईदिन नसके पनि त्यो वातावरण मिलाई दिन्छ । अहिले थुप्रै गायक गायिकाहरुले कमलासँग गीत रेकर्ड गर्न चाहिरहेकोमा उत्कृष्ट गायकसँग कमलाको दोहोरी गीत रेकर्ड गराउने हाम्रो योजना छ ।’

शिक्षक सिम्खडाले भने,‘अहिले युट्युव च्यानल देखि राष्ट्रिय टेलिभिजनमा समेत कमला लोकप्रिय भएर उनको व्यस्तता बढ्दा हामीलाई खुसी लागेको छ । तर त्यतापट्टी बढी व्यस्त हुँदा कमलाको पढाई बिग्रने होकी भन्ने चिन्ता हामीलाई छ ।’

कमलाले आफ्नो गायनबाट लोकप्रियता हाँसिल गरेपछि उनलाई धादिङबेसी देखि काठमाडौंसम्मका नाम चलेको नीजि बिद्यालयले निशुल्क पढाउन र पालन पोषणको लागि प्रस्ताव गरेका छन् ।

तर आफु पशुपति माविमै पढ्ने र गायनसँगै पढाईमा पनि मेहनत गर्ने कमलाले राजधानीलाई बताईन् । अब आफुले चाँडै गीत रेकर्ड पनि गराउने यी बालगायिकाले बताएकी छिन् भन्दै राजधानीमा खबर छ । ।

प्रकाशित मिति: Sep 22, 2019

प्रतिक्रिया दिनुहोस्