Logo
११ बैशाख २०८१, मंगलबार
(September 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जुम्ली स्याउकाे माग ह्वात्तै बढ्यो, बिक्री हुन छाड्यो भारतीय स्याउ

जुम्ली स्याउले बजार पाएपछि जाजरकोटमा भारतीय स्याउ बजार पाउन छाडेको छ ।

जिल्लाका सबै ठाउँमा जुम्ली स्याउले बजार पाएपछि भारतीय स्याउ बिक्री हुन छाडेको हो । रु एक सयमा प्रति किलो स्याउ पाइने भएपछि महङ्गो रुपैयाँमा भारतीय स्याउ खरीद गर्ने ग्राहकको सङ्ख्या घटेको हो ।

स्थानीय उत्पादन तथा सस्तोमा उपभोग गर्न पाएपछि अत्यधिक माग बढेको व्यापारी लोकेन्द्र रोकायले बताए । भारतीय स्याउ खाँदा मीठो नभएको तर जुम्ली स्याउ मीठो भएको भेरी नगरपालिकाणण-३ का शारदा ओलीले बताए । जाजरकोट सदरमुकाममा तीन ठाउँमा डिलर राखेर जुम्ली स्याउ बिक्री भइरहेको छ ।

जुम्ली स्याउसँगै जाजरकोटमा फलेको स्याउ बिक्री-वितरणमा समेत सहज भएको व्यापारीले बताएका छन् । भारतबाट कमाई गरेर घर फर्कनेहरु समेत घरमा जुम्ली स्याउ नै कोशेलीका रुपमा लिने गरेका छन् । अर्गानिक भन्दै जुम्ली स्याउको माग बढेको छ ।

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने उद्योग वाणिज्य सङ्घ, जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीले बताए । कर्णाली प्रदेश सरकारले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्य लिएसँगै जुम्ली स्याउको माग ह्वात्तै बढेको छ । यातायातको अभावमा अघिल्लो वर्ष जाजरकोटमा ल्याउन नसकिएको बताउने यहाँका व्यापारीहरु, यो वर्ष केही सहज भएपछि जुम्ली स्याउ ल्याउन पाएको बताएका छन् ।

जाजरकोटमा यातायातको पहुँच भएको सबै ठाउँमा जुम्ली स्याउ पुगेको व्यापारीहरु बताउँछन् ।

त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिम, सुर्खेतमा समेत जुम्ली स्याउमा बजार पाएको व्यापारी रणबहादुर महतले बताउनुभयो । भारतीय स्याउमा विषादी मिसाएको पाइएसँगै जुम्ली स्याउले बजार पाउँन थप सहज भएको हो । अहिले जाजरकोटमा दैनिक सरकारी कार्यालय, सङ्घसंस्था र कार्यक्रममा समेत जुम्ली स्याउकै प्रयोग दर बढेको छ ।

प्रकाशित मिति: Sep 21, 2019

प्रतिक्रिया दिनुहोस्