Logo
१२ श्रावण २०८१, शनिबार
(September 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यौनकर्मीको सम्पर्क केन्द्र बन्दै पशुपतिनाथ क्षेत्र, दर्शनार्थी नै ग्राहक

सोमबार बेलुका माइती नेपाल र महानगरीय प्रहरी वृत गौशालाको संयुक्त टोलीले सीतासहित ६ जना यौनकर्मीलाई पशुपति क्षेत्रबाट नियन्‍त्रणमा लिएको हो ।

उनीहरूले यही क्षेत्रलाई आफ्नो यौन व्यापारको केन्द्र बनाएको तथ्य खुलेको छ । खासगरी भारतीय पर्यटकलाई लक्षित गरेर यस क्षेत्रमा यौन व्यापार गर्ने ठूलो गिरोह सक्रिय रहेको देखिएको छ ।

धार्मिक क्षेत्रमा यस्तो धन्दा हुन नदिन स्थानीय प्रहरी र सामाजिक संस्थाको संयुक्त प्रयासमा निगरानी अभियान चलाइएको छ ।

घटनाक्रम : 

भारत कलकत्ताकी सीताकुमारी दास(१८)ले पशुपति मन्दिरबारे थोरै मात्र सुनेकी थिइन् । जब उनका प्रेमी राजु सिंहले यहाँको बारेमा उनलाई बताए, सीतालाई पशुपति कहिले जाउँ जस्तो भयो ।

एकदिन राजुले उनलाई भागेर पशुपति जाने योजना सुनाए । पहिले यो योजना सुनेर उनलाई डर लाग्यो । पछि उनलाई लाग्यो, अर्को बाटो छैन । किनकी घरपरिवारले उनको प्रेमलाई स्वीकार गरेको थिएन ।

सीता मन्जुर भइन् । तीन महिनाअघि उनी राजुसँगै पशुपति आइन् । सीताको लागि काठमाडौं नौलो थियो । उनी प्रेमीसँग केही दिन काठमाडौं घुमिन् ।

केही दिनको बसाइ रमाइलो भयो । तर यो रमाइलो धेरै टिक्न सकेन । काठामाडौं बसाइले अचानक अकल्पनीय मोड लियो । जुन सीताले सपनामा पनि सोचेकी थिइनन् ।

एकदिन राजु सीतालाई छोडेर बेपत्ता भए । उनी एक्लै भइन । कलकत्तासम्म पुग्‍ने बाटो खर्च पनि उनीसँग भएन । ‘म पशुपतिमा बसेर रोइरहें, मन्दिर वरिपरी घुम्थें तर राजु आएन, एकदिन बेलुकी पख म गौशाला नजिकै बसिरहेकी थिएँ ।

केही केटीहरु पुरुषसँग कुरा गरेपछि मोटरमा चढेको देखें’, सीता भन्छिन्, ‘अनि मलाई थाहा भो । यी केटीहरु पैसा यसरी कमाउँदा रहेछन् ।

अनि वाध्याताले सीतालाई यही बाटोमा डोहोर्‍यायो । एकदिन पशुपति नजिकै सडकमा बसिरहेका बेला उनलाई एक भारतीयले जाउँ भनेपछि उनी तयार भइन् । त्यस दिनदेखि सीता देहव्यापारमा संग्लग्‍न छिन् ।

‘म बाध्यताले यस्तो काममा लागेकी हुँ, पैसा सकिएपछि धेरै ठाउँमा गएर काम मागेँ तर काम पाइनँ’, उनी थप्छिन्, ‘यो काममा लागेपछि पैसा आयो, केही पैसा जम्मासमेत गरेकी छु ।’

देहव्यापारमा संलग्‍न भएको अवस्थामा उद्धार गरिएकी सीता अहिले माइती नेपालमा छिन् । उनी नेपाली बुझ्छिन् तर राम्रोसँग बोल्न जान्दिनन् ।

कमाठीपुरा बन्दै पशुपति क्षेत्र  :
यहाँ यौन व्यापार गर्ने यौनकर्मीले पशुपति क्षेत्रलाई भारतको मुम्बईस्थित चर्चित रेडलाइट एरिया ‘कमाठीपुरा’ सँग जोड्ने गरेका छन् । काठमाडौंस्थित भारतीय यौनकर्मीका लागि चर्चित ठाउँ बनेको छ पशुपति क्षेत्र ।

‘पशुपति जस्तो धार्मिक क्षेत्रमा यौन व्यवसाय चलिरहेको छ भन्ने त थाहा नै थियो तर यति खतरनाक रुपमा मौलाइरहेको छ भन्ने कुरा हामीलाई थाहा थिएन’, माइती नेपालकी कानुन अधिकृत उमा तामाङ भन्छिन् ।

उद्धार गरिएका महिलाले ग्राहक खोज्‍न पशुपति क्षेत्र सजिलो हुने भएकाले यही क्षेत्रलाई आफ्नो व्यवसायिक अखडा बनाउँदै आएको बताउँछन् ।

वर्ष २५ की रिताकुमारीले श्रीमानको मानसिक सन्तुलन गुमेपछि सन्तान हुर्काउन र दैनिक गुजारा चलाउन आफू यो पेसामा लागेको बताइन् । उनले भनिन्, ‘तीन वर्षदेखि मैले पशुपति क्षेत्रमा यो धन्दा गर्दै आएकी छु ।’ उनले देहव्यापार गरेर छोरालाई पढाएको बताइन् ।

पानीपुरीबाट गुजारा नचलेपछि देह व्यापारमा संग्लग्‍न भएकी देवी यादव (४५) पशुपति क्षेत्रमा यो धन्दा गर्नका लागि पछिल्लो समय नयाँ केटीहरु आएको बताउँछिन् ।

उनी भन्छिन्, ‘हामी पुराना पनि छौं तर अहिले धेरै नयाँ केटी आएका छन् । उनीहरु आफ्नै तरिकाले हिड्छन्, हामी आफ्नै तरिकाले हिँड्छौ‌‌ ।’

ग्राहक खोजीदिने काममा पनि केही प्रौढ महिला सक्रिय छन् । ‘उनीहरु आफै ग्राहकसँग जाँदैनन् तर ग्राहक खोजेर ल्याइदिन्छन् । हामी उनीहरुलाई केही कमिशन दिन्छौं, रिता भन्‍छिन् ।

पशुपति क्षेत्रमा यौन व्यवसाय चलाउनेले नै प्रत्येक महिना आफूहरुको रगत परीक्षण गर्ने गरेको उद्दार भएका महिलाहरु बताउँछन् ।

दर्शनार्थी नै ग्राहक :
पशुपति क्षेत्रमा चलिरहेको देह व्यापारका ग्राहकमध्ये सबैभन्दा धेरै भारतीय दर्शनार्थी हुने गरेको तथ्यसमेत खुलेको छ ।

यस कामका लागि यहाँका होटल प्रयोग हुने गरेका छन् । होटेलमा दलाल जाने गरेको र त्यहाँ रकम निश्‍चित भएपछि यौनकर्मी पठाउने गरिएको उद्धार गरिएका महिला बताउँछन् ।

कतिपय केटीले ग्राहकसँग डिल गर्दा होटेलको व्यवस्थासमेत आफै गर्ने भनेर बढी रकम लिने गरेका छन् ।

यसरी हुदैछ पशुपतिमा खुलेआम यौनको व्यापार


पशुपति मन्दिर क्षेत्र परिसरलाई पवित्र तिर्थस्थलको रुपमा लिईने गरिन्छ । तर, यहाँ रातको समयमा खुलेआम यौन धन्दा हुने गरेका पाएको छ ।

ठमेल, रत्नपार्क चाबहिल चोक र गौशाला जस्ता क्षेत्रमा पाइने यौनकर्मीहरु यति बेला पशुपति क्षेत्रको आर्यघाटमा भेटिन थालेका हुन । विषेश गरेर काठमाडौंका केही स्थानलाई अघोषित रेडलाइट एरिया नै भनिन्छ ।

जहाँ यौनकर्मी महिला र पुरुषबीच वार्गेनिङ भइरहेका दृष्य देखिन्छन् । तर, अहिले यौनकर्मीहरुले पशुपति आर्यघाटलाई प्रयोग गर्दै आएका छन्, जहाँ प्रहरी प्रशासनको आँखा नै पुगेको छैन ।

पशुपति क्षेत्र हिन्दुहरुको पवित्र महत्व बोकेको स्थल पनि हो । यहाँ यौनकर्मीहरुको भीड लाग्ला भनेर सायद कमैले सोच्लान् । हालसम्म काठमाडौंको गौशाला, नयाँ बसपार्क, ठमेल, कलंकी, कोटेश्वर, पुरानो बसपार्क आदी क्षेत्रमा झमक्क साँझ नपर्दै यौनकर्मी महिला र उनीहरुका शरिरमा खेल्न चाहने पुरुषहरुको भीड देख्न पाईन्छ ।

यी ठाउँहरुमा देखिने दृष्य अहिले पशुपति क्षेत्रमा देख्न पाइन्छ । प्रहरी प्रशासनले पशुपति क्षेत्रमा यसरी साँझपख खुल्लमखुल्ला यौनको वार्गेनिङ हुन्छ भनेर थाहा नपाएको पनि होइन, पशुपति क्षेत्रमा रहेका पुजारीहरुले पनि बेलाबेला यो कुरा सुनाउने गरेका छन् ।

तर, केहीबेरा प्रहरीले गस्ती गरेजस्तो गरे पनि त्यसलाई नियन्त्रण गर्न सकेको छैन । यतिसम्म की मलामीहरुलाई यौनकर्मीहरु खुलेआम ग्राहक बनिदिन अफर गरिरहेका दृष्य पनि आजभोली सामान्य बन्न थालेका छन् ।

(व्यक्तिगत गोपनीयतालाई ख्याल गर्दै समाचारमा प्रयोग भएका महिलाका नाम परिवर्तन गरिएको छ) ।

प्रकाशित मिति: Sep 18, 2019

प्रतिक्रिया दिनुहोस्