राष्ट्रिय गानलाई मुद्दा बनाउनुपर्ने कुनै कारण छैन, हल्ला निराधार हो : सञ्चारमन्त्री बास्कोटा
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले फिल्म हलहरुमा राष्ट्रगान बजाउने हल्ला निराधार रहेको बताएका छन् ।
बिहीबार मन्त्री परिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै मन्त्री बास्कोटाले यस्तो बताएका हुन्।
बाँस्कोटाले राष्ट्रिय गानलाई राजनीतिक मुद्दा नबनाउन आग्रह गरेका छन्। फिल्म हल र पशुपतिनाम मन्दिरमा आरतीअघि राष्ट्रिय गान बजाउनेबारे प्रवक्ता बाँस्कोटाले प्रचलित परम्परा र कानुन बमोजिम नै निर्णय भएको भन्दै राष्ट्रिय गानलाई मुद्दा बनाउन नहुने स्पष्ट पारे।
‘राष्ट्रिय गान स्वतन्त्रता, मर्यादा, आत्म स्वाभिमान, राष्ट्रिय गौरवको विषय हो। एकताको प्रतिबिम्व हो’, बिहीबार मन्त्रालयमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उनले भने, ‘त्यसकारण राष्ट्रिय गानलाई मुद्दा बनाउनुपर्ने कुनै कारण छैन।’
उनले फिल्म हलमा अनिवार्य राष्ट्रिय गान बजाउने आफूलाई थाहा नभएको बताए। ‘फिल्म हलमा राष्ट्रिय गान बजाउने कुरा मैले पनि सुनिरहेको छु। फिल्म क्षेत्रको मन्त्रालय यहीँ हो।
तर, मलाई चाहीँ थाहा भएन’, उनले व्यंग्य गर्दै भने, ‘पहिला पहिला त भन्थे मान्छेहरु हावा नचली पात हल्लिँदैन। अहिले त हावा नै नचली पात हल्लेको देखेर छक्क परेको छु, कुन युग हो भनेर प्रश्न गर्न मन लागेको छ।’
उनले आफूहरु नयाँ कानुनको मस्यौदा निर्माणको क्रममा रहेको उल्लख गर्दै कानुन नै नबनी फिल्म हलमा राष्ट्रिय गान कसरी बज्यो भनी प्रश्न गरे।
‘फिल्म हलको सन्दर्भमा बाहिर चलेको कुरामा मैले केही भन्नु छैन’, उनले थपे, ‘हामीले कानुन नै ड्राफ्ट गरेको छैन, कहाँबाट चल्यो यस्तो हल्ला?’ मन्त्री बाँस्कोटाले डेंगु संक्रमण नियन्त्रणमा सरकार संवेदनशील रहेको स्पष्ट पारे।