Logo
१२ श्रावण २०८१, शनिबार
(September 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५१ रिक्त पदमा उपनिर्वाचन : ४ लाख ४७ हजार मतदाता, २५ करोड निकासा

निर्वाचन आयोगले आगामी १४ मंसिरमा हुने उपनिर्वाचनका लागि ३७ जिल्लामा ४ लाख ४७ हजार ७ सय ९२ मतदाता रहेको बताएको छ । आयोगले विभिन्न ३७ जिल्लामा हुने उपनिर्वाचनका लागि १ सय ५४ वडामा ४ लाख ४७ हजार ७ सय ९२ मतदाताको नामावली संकलन भएको बताएको हो ।

आयोगले मतदाता नामावलीउपर दाबी विरोधसमेत आह्वान गरेको छ । आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार १ असोजमा हरेक वडामा रहेको सहायक नाम दर्ता अधिकारीको कार्यालयमा नामावली प्रकाशन गरिने, २ असोजमा सो नामावलीमा दोहोरो नाम परेको हटाउन तथा त्रुटि भएको सच्याउन निवेदन लिनेलगायतका काम गरी ६ असोजमा पुनः नामावली अद्यावधिक गरिनेछ ।

यसैगरी, ८ असोजमा हटाइएको नाम सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको वडा कार्यालयमा टाँस्ने तथा सोही दिन अद्यावधिक गरिएको नाम प्रकाशन गर्ने र ८ देखि १० असोजसम्म अद्यावधिक गरिएको नाम जिल्ला निर्वाचन कार्यालयमा बुझाइने आयोगले जनाएको छ ।

आयोगले उपनिर्वाचनका लागि कतिपय आवश्यक सामग्री पहिले निर्वाचनमा प्रयोग गरिएकालाई नै प्रयोग गर्न सकिनेसमेत जनाएको छ । यसैगरी, उपनिर्वाचन गराउन आयोगले करिब ३९ करोड रकम आवश्यक पर्ने बताउँदै आएको छ । अर्थ मन्त्रालयले उपनिर्वाचनका लागि २५ करोड निकासा गरिसकेको छ ।

आयोगले उपनिर्वाचनका लागि दल दर्ता आह्वान यसअघि नै गरिसकेको छ । आयोगले विभिन्न ५१ पदमा हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको उपनिर्वाचनका लागि भदौ मसान्तसम्म दल दर्ताका लागि समय दिएको हो ।

आयोगका अनुसार हाल प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, नगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १ र वडा अध्यक्ष ४२ गरी कुल ५१ रिक्त पदका लागि उपनिर्वाचन हुँदै छ ।

प्रकाशित मिति: Sep 11, 2019

प्रतिक्रिया दिनुहोस्