Logo
११ श्रावण २०८१, शुक्रबार
(September 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्को निर्वाचनमा बाचा हैन विकासको ग्राफ लिएर जान्छौँ : पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटक पाहुनाको आतिथ्य सत्कारसँग प्रत्यक्ष सरोकार राख्ने पर्यटक यातायात व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन नीतिगत सुधार गरिने बताएका छन् ।

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको १६ औँ वार्षिक साधारण सभाको आइतबार साँझ उद्घाटन गर्दै मन्त्री भट्टराईले अर्बौं लगानी भएको र हजारौँले रोजगारी पाइरहेको पर्यटक यातायात क्षेत्रलाई नीतिगत व्यवस्था, लगानीको सुधार राज्यको दायित्व हो भन्दै त्यसका लागि आफ्नो तर्फबाट प्रभावकारी पहल गरिने बताएका हुन् ।

उनले पर्यटन सम्भावनायुक्त व्यापक क्षेत्र भएको र आजको पर्यटनको दायरा फराकिलो बनिरहेको परिप्रेक्षमा पाहुनालाई सुरक्षित गन्तव्यमा पुर्याउन पर्यटक यातायात व्यवसायीले निर्वाह गरेको भूमिकाको प्रसंशा पनि गरे । पर्यटक यातायात व्यवसायीले उठाएका समय सान्दर्भिक समस्यालाई अन्तर मन्त्रालयबीच समन्वय तथा मन्त्रिपरिषद्बाट निर्णय गराएर भए पनि समाधानका निम्ति पहल गरिने मन्त्री भट्टराईको भनाइ थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्यसमेत रहेका पर्यटनमन्त्री भट्टराईले प्रतिपक्षी दलले सरकारको आलोचना मात्र हैन आर्थिक विकास र समृद्धिको यात्रामा सकारात्मक सहयोग गर्नुपर्ने विचार व्यक्त गरे ।

मन्त्री भट्टराईले सरकार गठन भएको १८ महीनाको अवधिमार समृद्धिको आधार खडा भएको दाबी गर्दै पूर्ण परिणामका लागि ५ वर्ष कुर्नुपर्ने बताए ।

उनले भने, “अर्को चुनावमा जनतासामु वाचा लिएर जाँदैनौँ, ५ वर्षमा भएका विकास र प्रगतिको ग्राफ लिएर जान्छौँ । अहिले सरकारको १८ महीनाको अवधिमै राष्ट्रिय गौरवका आयोजनाले उल्लेख्य प्रगति हासिल गरेका छन् ७ अङ्कको आर्थिक वृद्धि भएको छ, अन्य क्षेत्रमा सकारात्मक परिवर्तनका सूचक देखिएका छन् बरु वादविवादभन्दा पनि परिवर्तित व्यवस्थाको संस्थागत र समृद्धिको यात्रालाई सहकार्यका साथ अघि बढाउनु अपरिहार्य छ ।”

कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले भ्रमण वर्ष अभियानलाई प्रभावकारी बनाउन पर्यटक यातायात व्यवसायीको महत्वपूर्ण भूमिका हुने भन्दै जिम्मेवार र मर्या्दित भएर लाग्न आग्रह गरे ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आर्थिक समृद्धिको आधार पर्यटन क्षेत्रको विकास विस्तारका लागि पूर्वाधार विकास र पद्धतिको विकास गरिनुपर्नेमा जोड दिए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भ्रमण वर्षलाई सफल बनाउन पर्यटनका विविध क्षेत्रमा सहुलियत तथा छुटको व्यवस्था गर्न सरकारसमक्ष माग गरे ।

यसैबीच सङ्घको अध्यक्षमा रामहरि शर्मा निर्विरोध निर्वाचित भएका छन् । समितिको प्रथम उपाध्यक्षमा भीमबहादुर गोले, दित्तिय उपाध्यक्षमा रोशन घिमिरे, महासचिवमा कुलप्रसाद घिमिरे, सचिवमा अनिल मोक्तान, कोषाध्यक्षमा शङ्खनारायण महर्जन चयन भएका छन् ।

सङ्घका निवर्तमान अध्यक्ष रामशरण कार्कीले करीब रु ४० अर्ब लगानी भएको तथा झण्डै १० हजारले प्रत्यक्ष रोजगारी पाएको पर्यटक यातायात व्यवसायलाई कानूनीरुपमै व्यवस्थित र सहुलियतको व्यवस्था गर्न माग गरे ।

प्रकाशित मिति: Sep 9, 2019

प्रतिक्रिया दिनुहोस्