Logo
१२ श्रावण २०८१, शनिबार
(September 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१२ बूँदे समझदारीमा भारतको कुनै पनि संलग्नता छैन : माधव नेपाल

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्काल राजनीतिक दल र विद्रोही माओवादीबीच भारतमा भएको १२ बूँदे समझदारीमा भारतको कुनै पनि संलग्नता नरहेको दावी गरेका छन् ।

लक्ष्मण पन्तद्धारा लिखित ‘नेपाल, भारत र छिमेक: चार दशकका मुख्य घटना’ नामक पुस्तकको आईतबार काठमाडौंमा विमोचन गर्दै उनले तत्कालीन सात राजनीतिक दल र विद्रोही माओवादीसँग १२ बूँदे समझदारी गर्दा भारतसँग कुनै परामर्श समेत नगरिएको बताएका हुन् ।

नेकपाका विदेश विभाग प्रमुख समेत रहेका नेता नेपालले भारतको संलग्नतामा सो १२ बूँदे समझदारी भएको भन्ने भनाईको कडा प्रतिवाद पनि गरे । सो समझदारीका लागि तत्कालीन माओवादी विद्रोहका सुप्रिम कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सहभागी गराउन आफ्नो नै मुख्य भूमिका रहेको पनि नेता नेपालको भनाई छ ।

नेता नेपालले नारायणकाजी श्रेष्ठलाई आफूले बोलाउन पठाएपछि दाहाल सो समझदारीका लागि दिल्ली आएको पनि खुलासा गरे ।

काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई पनि आफूले टेलिफोन संवादमार्फत् वार्तामा बोलाएको नेता नेपालले बताए । सो तथ्य पुस्तकमा नआएकोमा नेता नेपालको असन्तष्टि पनि छ ।

नेता नेपालले समझदारीका लागि तत्कालीन नेकपा एमालेको महासचिवको तर्फबाट आफूले, काँग्रेसको तर्फबाट कृष्णप्रसाद सिटौला र विद्रोही माओवादीको तर्फबाट डा.बाबुराम भट्टराईले सो १२ बूँदे समझदारीका लागि खेस्रा तयार पारेको पनि बताए ।

बरिष्ठ नेता नेपालले भारतको परामर्शमा तत्कालीन विद्रोही माओवादीसँग दिल्लीमा १२ बूँदे समझदारी नभएको यसअघि पनि बताएका थिए ।

ट्वाईलेटभित्र गएर कसैले भारतका कुनै पनि नेतासँग टेलिफोन संवाद गरेको भए आफूलाई थाहा नभएको तर सो सम्बन्धमा भारतसँग कुनै पनि परामर्श नगरिएको नेता नेपालको स्पष्टिकरण थियो ।

प्रकाशित मिति: Sep 8, 2019

प्रतिक्रिया दिनुहोस्