Logo
४ जेष्ठ २०८१, शुक्रबार
(September 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिका-चीन : दुबै देशले लगातार करवृद्धि गरेपछि व्यापार वार्ता अबरुद्ध

बेइजिङ : संयुक्तराज्य अमेरिकासँग चीनको व्यापारमा ठूलो गिरावट आएको छ ।

दुबै देशले एकअर्का मुलुकका सामानमा लगातार करवृद्धि गरेपछि व्यापारमा मन्दी आएको अध्ययनहरुले देखाएका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्षको अगस्टमा अमेरिकी सामानको आयातमा २२ प्रतिशतले कमी आएको छ । चिनियाँ करवृद्धिका कारण अगस्ट महिनामा अमेरिकाबाट करिब १० अर्ब डलर बराबरको सामान मात्र आयात भएको छ ।

चिनियाँ भन्सारका अनुसार संयुक्तराज्य अमेरिकातर्फको निकासी पनि १६ प्रतिशतले घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करवृद्धिलाई यथावत राखेका कारण गत अगस्ट महिनामा करिब ४४ अर्ब अमेरिकी डलर बराबरका सामान मात्र अमेरिकातर्फ निकासी भएका छन् ।

संयुक्तराज्य अमेरिकाका व्यावसायिक क्षेत्रमा आवद्ध अर्थशास्त्रीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कतिपय आर्थिक नीतिका कारण सन् २०२१को अन्त्यसम्ममा आर्थिक मन्दी हुने अनुमान गरेका छन् । अमेरिकी व्यावसायिक अर्थशास्त्री संघले गरेको सर्वेक्षणमा ३४ प्रतिशत अर्थशास्त्रीले अर्थतन्त्रको मन्द वृद्धिले सन् २०२१ मा ठूलै आर्थिक मन्दी निम्तिने उल्लेख छ ।

गत फेब्रुअरीमा गरिएको यस्तै सर्वेक्षणमा २५ प्रतिशतले आर्थिक मन्दी आउने पूर्वानुमान गरेका थिए । सर्वेक्षणमा दुई प्रतिशतले मात्र यसै वर्षदेखि मन्दी आउने बताएका थिए । करिब ३८ प्रतिशतले आर्थिक मन्दी सन् २०२० मै शुरु हुने बताएका छन् ।

अर्थशास्त्रीले राष्ट्रपति ट्रम्पले अघि सारेका करवृद्धिको योजना र उच्च बजेट घाटाले अन्ततः अर्थतन्त्रलाई नै नोक्सान गर्ने अनुमान गरेका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकाका प्रमुख व्यापारिक साझेदार मुलुकहरुबाट भित्रिने सामानमा करवृद्धि गर्नुभएको छ । उहाँले चीन, युरोपेली मुलुक, मेक्सिको र क्यानाडाबाट आउने सामानमा कर बढाएका छन् ।

अमेरिकी अधिकारीहरुले आयातमा हुने करवृद्धिले व्यापारमा सहजता आउने विश्वास व्यक्त गरेका छन् तर अमेरिकी व्यापारिक साझेदार मुलुकहरुले प्रतिशोध स्वरुप अमेरिकी सामानमा पनि करवृद्धि वा आयात नियन्त्रण गरेका छन् । विश्वका सर्वा्धिक ठूला अर्थतन्त्र भएका मुलुक अमेरिका र चीनबीचको व्यापारमा नाटकीयरुपमा कमी आएको छ ।

राष्ट्रपति ट्रम्पले करिब ३०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमाथि पछिल्लो पटक घोषणा गर्नुभएको १० प्रतिशत करवृद्धिको प्रस्तावलाई आगामी डिसेम्बर १५ सम्मका लागि स्थगन गरेका छन् । सर्वेक्षणमा अमेरिका–चीन बीचको व्यापार सम्झौता सफल हुनेमा धेरैजसो अर्थशास्त्रीले आशंका व्यक्त गरेका छन् । करिब पाँच प्रतिशत अर्थशास्त्रीले मात्र व्यापार वार्ता सफल हुने अनुमान गरेका छन् जबकी ६४ प्रतिशतले सम्झौताको नाटक मात्र हुने बताएका छन् ।

करिब एक तिहाइले दुबै मुलुकबीच कुनै ठोस सहमति नहुने जनाएका छन् । सर्वेक्षणमा कर्पोरेसन र ट्रेड युनियनमा आबद्ध अमेरिकाका करिब २२६ जना अर्थ्विज्ञका धारणा समेटिएको छ । यो सर्वेक्षण जुलाई १४ देखि अगस्ट १ को अवधिमा गरिएको थियो । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीचको व्यापार वार्ता चाँडै पुनःशुरु हुने बताएका छन् । दुबै मुलुकले एकअर्का देशका सामानमा करवृद्धि गरेपछि व्यापार वार्ता अबरुद्ध भइरहेको छ ।

फ्रान्सको बियारिजमा सात औद्योगिक राष्ट्रहरुको सम्मेलनमा सहभागी भएका राष्ट्रपति ट्रम्पले भनेका छन्–चीनबाट वार्ताका लागि फोन आयो, र उनीहरुको भनाइ वार्ताको टेबलमा बसौं भन्ने छ । त्यही भएर हामी पनि वार्तामा बस्न राजी भएका हौं । राष्ट्रपति ट्रम्पले चिनियाँ अधिकारीको भनाइ निकै सकारात्मक रहेका र उनीहरु कुनै सम्झौता गर्न तत्पर रहेको देखिएको बताए ।

राष्ट्रपति ट्रम्पले चीनले अमेरिकी सामानको मुल्यवृद्धि गरेपछि अमेरिका प्रवेश गर्ने सबै चिनियाँ सामानमा करवृद्धिको घोषणा गरेका थिए । संयुक्तराज्य अमेरिकाले चिनियाँ व्यापार मोडेलमै परिवर्तन ल्याउन र व्यापक सुधार गर्न दबाब दिइरहेको छ ।

चीनसँग वार्ताका लागि अमेरिकी राष्ट्रपतिले सहमति जनाए पनि विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासकाबीच नयाँ व्यापार सम्झौता गर्न चीनमाथि दबाब दिने उद्देश्यले संयुक्तराज्य अमेरिकाले सेप्टेम्बर १ देखि नै चिनियाँ सामानको आयातमा नयाँ करहरु लागू भएको घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा संवाददातासँग भने, ‘घोषित कर वृद्धि लागू हुन्छ, यो रोकिँदैन ।’

प्रकाशित मिति: Sep 8, 2019

प्रतिक्रिया दिनुहोस्