Logo
१२ श्रावण २०८१, शनिबार
(September 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मानवीय भावना फैलाउन “माया” भन्ने मूल नाराका साथ देशभर मनाइयो ५७ औं रेडक्रस दिवस

काठमाडौँ :  मानवीय भावना फैलाउन र प्रेममय वातावरण विकास गर्न “माया” (#LOVE) भन्ने मूल सन्देशका साथ नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को ५७ औं स्थापना दिवस आज देशैभर विविध कार्यक्रमसहित सम्पन्न भएको छ ।

नेरेसो केन्द्रीय कार्यालयमा रेडक्रसका संस्थापक जँ हेनरी ड्यूनाको तस्विरमा माल्र्यापण गरी सोसाइटीका अध्यक्ष संजीव थापाले दिवसको शुरुवात गरेका थिए । अध्यक्ष थापाले भने, “यस वर्षको मूल नारा “#माया” अर्थात् #LOVE ले हामी सबै रेडक्रस प्रेमीलाई एक बनाउन मद्धत गरिरहेको छ ।”

रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका नेपाल प्रमुख जुजा किम, रेडक्रसको अन्तर्राष्ट्रिय समिति आइसीआरसीका नेपाल सहयोग प्रमुख प्रमेश पौडेल, साझेदार राष्ट्रिय सोसाइटीका तर्फबाट क्यानेडियन रेडक्रसका नेपाल प्रमुख पिताम्बर अर्यालले नेपाल रेडक्रसले गरेका कामको प्रशंसा गर्नुहुदै यसलाई अझै सबल र विश्वसनीय बनाउन सहयोगको प्रतिवद्धता व्यक्त गरे ।

दिवसको अवसर पारेर रेडक्रस प्रति माया झल्काउने फोटो प्रतियोगिता र नेरेसो कर्मचारी कल्याण कोषको संयोजनमा फुटबल, म्यारथन, चेसलगायतका खेलकुद प्रतियोगिताका विजेताहरुलाई सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले आजै पुरस्कार र प्रमाण पत्र वितरण गरे ।

माया झल्काउने फोटोतर्फ धनकुटाका हरी राई, लोकप्रिय फोटो तर्फ रमा ढकाल, रचनात्मक फोटोतर्फ दिव्यराज पौडेल, समूहगत फोटोतर्फ स्वयम्भू उपशाखा र प्रेरणादायी फोटोतर्फ कमल बास्तोला पुरस्कृत भएका छन् । नेरेसोमा कार्यरत कर्मचारीका छोराछोरीहरु तर्फ कक्षा ८ र एसइई परिक्षामा सर्वोत्कृष्ट हुनेलाई पनि महामन्त्री धाख्वाले पुरस्कार र प्रमाण पत्र वितरण गरे ।

यसै अवसरमा सोसाइटीमा २५ वर्ष निरन्तर सेवा गरेका ९ जना कर्मचारीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा उमेशप्रसाद ढकाल, सुवर्ण कुमारी सिग्देल, धर्मकला मिश्र, माधवप्रसाद गुनी, मानवहादुर सिंह, इश्वरी पन्त, दुर्गा वेलवासे, हुतराज भट्टराई र नारायण शाही रहेका छन् । सम्मानित हुनेहरुको तर्फबाट बोल्दै नेरेसोका कार्यकारी निर्देशक उमेश प्रसाद ढकालले २५ वर्ष संस्थामा काम गर्दा आफूले मानवीय क्षेत्रका धेरै कुरा सिकेको र सेवाको अवसर प्राप्त भएको बताए ।

केन्द्रीय कार्यालयमा ४३ जनाले रक्तदान गरेका थिए । नेरेसोका स्वयंसेवक तथा कर्मचारीहरुले प्रतिभा प्रर्दशन तथा साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरेका थिए । दिवसको पूर्व सन्ध्यामा बुधबार केन्द्रीय कार्यालय परिसर सरसफाई गरिएको थियो ।

यस अवसरमा देशभरीका ७ वटै प्रदेश, ७७ वटै जिल्ला शाखा र १५०० भन्दा वढी उपशाखा र जुनियर युवा सर्कलहरुले विविध कार्यक्रमको आयोजना गरेका छन् । धादिङ र गोरखा जिल्लामा प्रभातफेरी र रक्तदान, पर्सामा प्रधानाध्यापकहरुसँगको अन्र्तक्रिया, पर्वतमा सरसफाई कार्यक्रम, बाँकेमा वृक्षारोपण र रक्तसमूह परिक्षण, भक्तपुरमा पत्रकार भेटघाट, सुर्खेतमा कविता वाचन जस्ता कार्यक्रमहरु सञ्चालन भएका छन् ।

२०२० भाद्र १९ गते नेरेसोको स्थापना भएको थियो । देशका सबै ठाउँमा रहेका नेपाल रेडक्रसका एक लाख भन्दा बढी स्वयंसेवक तथा कर्मचारीहरुले वर्षेनी औषत २५ लाख मानिसलाई सेवा पुर्याउँदै आएका छन् । नेरेसोका जुनियर युवा लगायत १० लाख सदस्यहरु रहेका छन् ।

प्रकाशित मिति: Sep 6, 2019

प्रतिक्रिया दिनुहोस्