Logo
१२ श्रावण २०८१, शनिबार
(August 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सशस्त्र समूहको आक्रमणबाट नाइजेरियामा ७ महिनामा १४०० को मृत्यु

अबुजा :  नाइजेरिया सरकारले नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणबाट ७ महिनाको अवधिमा १ हजार ४६० जनाको मृत्यु भएको जनाएको छ ।

यसै वर्षको जनवरीदेखि जुलाईसम्मको ७ महिनाको अवधिमा सशस्त्र समूहले कम्तीमा ३३० वटा आक्रमण गरेका थिए । उत्तरपश्चिम केब्बी राज्यमा भएको सुरक्षाफौजको बैठकमा विगतमा निकै शान्त रहेको यस क्षेत्रमा सुरक्षा खतरा बढ्दै गएकामा चिन्ता व्यक्त गरिएको थियो ।

नाइजेरियाका मुख्यसचिव अमिना शामाकीले जुनदेखि जुलाईको अवधिमा हिंसात्मक आक्रमणका घटनामा भने सामान्य कमी आएको बताए । खासगरी, जाम्फारा राज्यमा सशस्त्र डाकु समूहका गतिविधि र पशुपंक्षीको चोरीका घटनामा कमी आएको छ ।

जाम्फारा राज्यमा सशस्त्र डकैतीका घटनामा कमी आएपनि मुलुकका अन्य भागमा अपहरण समेतका घटनामा निकै वृद्धि भएको छ । सिन्ह्वाका अनुसार गत शुक्रबार यतामात्र नाइजेरियामा कम्तीमा ४ वटा अपहरणका घटना भएका छन् भने करिब ३० जनालाई सशस्त्र समूहले बन्धक बनाएका छन् ।

मुख्यसचिव शामाकीले भने : अर्को चिन्ताजनक कुरा खुला सिमानाको हो । खुला सीमाबाट साना हतियार सहजै भित्रिने गर्दा हिंसात्मक घटनामा वृद्धि भएको छ । नाइजेरियासँग सीमा जोडिएका युद्धग्रस्त मुलुकहरुबाट हातहतियारका साथै आतंकवाद, सीमापार अपराध, मानवतस्करी, अवैध आप्रवासन समेतका घटना भइरहेका छन् ।

उनले नाइजेरियाको संघीय सरकारले यी चुनौतीलाई विशेष ध्यानमा राखी सीमा सुरक्षालाई व्यवस्थित तुल्याउन पहल गरिरहेको जानकारी दिए । सुरक्षा व्यवस्था सुदृढ गर्न संयुक्त सुरक्षा फौज तत्कालै गठन गर्ने र आगामी अक्टोबरबाट देशव्यापी परिचालन गर्ने योजना नाइजेरिया सरकारले अघि सारेको छ ।

यसबाट आपराधिक समूहका गतिविधिसम्बन्धी गोप्य सूचना संग्रह गर्न र तत्काल कारबाही गर्न मद्दत पुग्ने मुख्यसचिव शामाकीले बताए ।

प्रकाशित मिति: Aug 30, 2019

प्रतिक्रिया दिनुहोस्