Logo
२९ बैशाख २०८१, शनिबार
(August 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुडान घोटाला काण्डका दोषी शम्भु भारती भैँसेपाटीबाट पक्राउ

नेपाल प्रहरीले सुडानमा खटिने राष्ट्रसङ्घीय मिसनका लागि आवश्यक सामग्री खरीदमा भएको घोटाला प्रकरणमा दोषी ठहर भएका शम्भु भारतीलाई पक्राउ गरेको छ ।

विशेष अदालतले सुडान घोटला काण्डमा विसं २०७४ वैशाख १७ गते दोषी ठहर गरेको भारतीलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज बिहान ललितपुरको भैँसेपाटीबाट पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपक रेग्मीले विशेष अदालतबाट दोषी ठहरपछि फरार भएका भारतीलाई पक्राउ गरेको जानकारी दिए । भारतीले सुडान मिसनका लागि आवश्यक सामग्री आपूर्तिमा घोटाला गरेका थिए ।

भारतीलाई अदालतले १ वर्ष कैद र रु १४ करोड २० लाख ८ हजार जरिवाना तोकेको थियो । डडेलधुरा निवासी भारती हाल ललितपुरको भैँसेपाटी बस्दै आएका थिए ।

पक्राउ परेका भारतीलाई फैसला कार्यान्वयनका लागि ब्यूरोले आजै अदालतमा पेश गरेको छ । अदालतले सुडान घोटालाको मुद्दामा तत्कालीन महानिरीक्षकहरु ओमविक्रम राणा, हेमबहादुर गुरङ, रमेशचन्द्र ठकुरीलाई दोषी ठहर गरी सजायसमेत गरिसकेको छ ।

प्रकाशित मिति: Aug 30, 2019

प्रतिक्रिया दिनुहोस्