Logo
३१ बैशाख २०८१, सोमबार
(August 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मनसुनी प्रणाली कमजोर हुँदै, महाशाखाका अनुसार ‘आइसोलेटेड’ वर्षा हुनसक्ने अनुमान

मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतिर अवस्थित रहेनेछ जसका कारणले केही दिन मनसुनी प्रणाली कमजोर हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारतको मध्यप्रदेशमा रहेको मनसुनको न्यून चापीय प्रणाली हाल कमजोर भई भारतको राजस्थान क्षेत्रमै रहेकाले मनसुनी गतिविधि कमजोर बन्दै गएको जल तथा मौसम विज्ञान विभाग मौसस पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीले बताइन् । “उक्त प्रणालीको प्रभावले आगामी ३ दिन देशभर मनसुन सक्रिय हुने अवस्था रहेको छैन”, मौसमविद् बासीले भनिन् ।

“यो अवधिमा वर्षा नै नहुने भन्ने हुँदैन, अहिले मनसुनको समय हो, ‘आइसोलेटेड’ वर्षा हुनसक्छ । कुनै खास क्षेत्रमा अन्य क्षेत्रमा भन्दा पृथक रुपमा वर्षा हुनसक्छ”, तर त्यसलाई मनसुन पूर्ण सक्रिय भएको भन्न नमिल्ने मौसमविद् बासीको भनाइ रहेको छ ।

मौसमविद्का अनुसार न्यून चापीय रेखाको औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण उत्तर-प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बङ्गाल हुँदै बङ्गालको खाडीको शिरसम्म जनाउँछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली हुनुका साथै केही स्थानमा मेघगर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने जनाइएको छ ।

त्यसैगरी भोलि देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । अनि सोमबार भने देशको धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थान, पूर्वी र मध्यका १ २ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशााखाले जनाएको छ ।

प्रकाशित मिति: Aug 10, 2019

प्रतिक्रिया दिनुहोस्