Logo
१२ श्रावण २०८१, शनिबार
(August 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मध्यरातमा लागेको आगोले टर्यो ठूलो विनाश, दर्जनौँभन्दा बढी फर्निचर पसल जलेर ध्वस्त

संकेतिक तस्विर

बाँके :  नेपालगञ्जको सुर्खेतरोडस्थित गुरुद्वारा अगाडि रहेका पसलहरुमा आगलागी भएको छ । मंगलबार भएको २ फेन्सी पसलमा आगलागीपछि हिजो बिहीबार मध्यरातमा आगलागी भएको हो ।

राति ११ बजेबाट शुरु भएको आगलागी २ बजेतिर नियन्त्रणमा आएको थियो । गुरुद्वारादेखि उपमहानगरपालिका छेउसम्मका दर्जन बढी फर्निचर पसल आगलागीबाट खरानी भएका छन् ।

प्रत्यक्षदर्शी सरोजकुमार चन्दका अनुसार नेपालगञ्जका २, कोहलपुरको १ र नेपालगञ्ज विमानस्थलमा रहेको १ गरी ४ दमकललाई आगलागी नियन्त्रणमा लिन हम्मेहम्मे परेको थियो । “फर्निचर पसल रहेकाले आगो नियन्त्रणमा आउन गाह्रो भएको थियो”, प्रत्यक्षदर्शी चन्दले भने ।

४ दमकलको प्रयोग गरी प्रहरीले करीब ३ घण्टापछि आगलागी नियन्त्रणमा लिएको थियो । आगलागीबाट करीब रु ७ देखि १० करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ, तर क्षतिको यकिन विवरण भने अध्ययनपछि मात्रै आउने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

“दर्जन बढी फर्निचर पसल जलेका छन्, अध्ययन नगरेरै वास्तविक क्षति कति भएको छ भन्ने थाहा हुँदैन, हामीले अहिले अनुमान मात्रै गरेका छौँ”, प्रहरी उपरीक्षक वलीले भने ।

फर्निचर पसलमा आगलागी भएपछि विपीचोक नजिकै घना बस्तीका बीचमा रहेको पेट्रोलपम्पमा आगलागी हुनबाट भने जोगाइएको छ । “पेट्रोलपम्पमा आलागी भएको भए नेपालगञ्जमा ठूलो विनाश निम्तिने थियो”, प्रहरी उपरीक्षक वलीले भने, “पम्पमा आगलागी हुन नदिन हामीले गरेको निरन्तर प्रयास सफल भयो । यसबाट पेट्रोलपम्पका साथै घना बस्ती ठूलो जोखिमबाट बचेको छ । हामीले ठूलो विनाशलाई टारेका छौँ ।”

नेपालगंजमा आगजनीको समस्या बढ्दो छ । यसअघि मङ्गलबार नेपालगञ्ज–२ घरबारीटोलमा रहेका २ कपडा पसलमा आगलागी भएको थियो । जसमा करीब रु २ करोड बढीको क्षति भएको थियो ।

बडिमालिकाबाट शुरु भएको आगो छेउमा रहेको प्रेरणा फेन्सी स्टोरमा सल्किएको थियो । आगलागीबाट प्रेरणा फेन्सी स्टोर र बडिमालिका अर्डर एण्ड सप्लायर्समा रहेका सबै सामान जलेर नष्ट भएका छन् । आगलागीपछि दमकल र सुरक्षाकर्मीले आगलागी नियन्त्रणमा लिएका थिए ।

प्रकाशित मिति: Aug 9, 2019

प्रतिक्रिया दिनुहोस्