Logo
१२ श्रावण २०८१, शनिबार
(August 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वराजको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त “उहाँले आत्मीयतापूर्वक भाइ बोलाउनु हुन्थ्यो”

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय  जनता पार्टी (भाजपा) की नेतृ तथा पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले बुधबार बिहान ट्वीटमार्फत स्वराजको निधनमा दुःख व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले बुधबार बिहान दुई वटा ट्वीट गर्दै भन्नुभएको छ ‘भारतकी पूर्व विदेशमन्त्री तथा वरिष्ठ राजनीतिक नेतृ सुषमा स्वराजको निधनको खबरले स्तब्ध भएको छु ।

यस दुखद् घडीमा भारत सरकारका साथसाथै सम्पूर्ण भारतीय नागरिक तथा शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।’

साथै प्रधानमन्त्री ओलीले सुषमा स्वराजसँग व्यक्तिगत रुपमा पनि आफ्नो राम्रो सम्बन्ध भएको बताउनुभएको छ । उहाँ लेख्नहुन्छ ‘मलाई सम्झना छ, उहाँले आत्मीयतापूर्वक मलाई भाइ भनेर बोलाउनु हुन्थ्यो । उहाँले आत्मीयतापूर्वक आफ्ना भावना बाँड्नुहुन्थ्यो ।’

भारतकी पूर्व विदेशमन्त्री एवं सत्तारुढ भारतीय जनता पार्टी भाजपाकी वरिष्ठ नेत्री सुषमा स्वराजको मंगलबार राति निधन भएको हो ।

उहाँको ६७ वर्षको उमेरमा निधन भएको हो । उहाँको मंगलबार राति दिल्लीको एम्स अस्पतालमा निधन भएको भारतीय संचार माध्यमले जनाएका छन् । उहाँलाई मुटुसम्बन्धी समस्या भएपछि अस्पताल लगिएको थियो ।

स्वराजको पार्थिव शरीर बुधबार दिउँसो ३ बजेदेखि अन्तिम श्रद्धाञ्जलीको लागि पार्टी कार्यालयमा राखिनेछ । त्यसपछि ४ बजे राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भारतीय जनता पार्टीले जनाएको छ ।

प्रकाशित मिति: Aug 7, 2019

प्रतिक्रिया दिनुहोस्