Logo
२ जेष्ठ २०८१, बुधबार
(August 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सार्वभौम नेपालविरुद्ध भारतको कुनै गोप्य डिजाइन छैन : भाजपा बिदेश बिभाग प्रमुख

भारतको सत्ताधारी दल भारतीय जनता पार्टीका विदेश मामिला विभाग इन्चार्ज डा. विजय चौथइवालेले नेपालमाथि हाबी हुने कुनै पनि काम भारतले नगर्ने बताएका छन् । उनले भाजपा सत्तामा आएपछि नेपाललाई झन सम्मानका साथ महत्व दिएको भन्दै भारतले नेपाल विरुद्ध कुनै पनि प्रकारको गोप्य डिजाइनमा नलागेको बताए ।

नेपाल-भारत मैत्री समाजले आयोजना गरेको अन्तर संवाद कार्यक्रममा डा. चौथाइवालेले भारतले नेपाललगायतका छिमेकीसँग प्रधानमन्त्री नरेन्द्र मोदीको नीति अनुसार नै सम्बन्धलाई बलियो बनाउन चाहेको बताए।

नेपालमा भारत हाबी हुन खोजेको भन्ने मानसिकता रहेकोप्रति आफू सचेत रहेको बताउँदै उनले भने, ‘नेपालमाथि हाबी हुन भारतले गोप्य डिजाइन गरिरहेको छ भन्ने यहाँ परेकोबारे हामी पूर्ण जानकार छौँ। हामी यहाँ हाम्रा सहयोगी हात बलियो बनाउन आएका हौँ। यहाँ हाबी हुनका लागि आएका होइनौँ।’ उनले नेपाल सार्वभौम मुलुक भएको सोहीअनुसार भारतले सम्बन्ध राख्ने प्रस्ट पारेका छन् ।

नेपालसँग व्यवहारिक सम्बन्ध चाहेको र त्यो दुवै मुलुकको समातेका आधारमा हुनुपर्ने डा. चौथाइवालेको धारणा थियो। उनले नेपालसँग सांस्कृतिक, सामाजिक, व्यापारिक र पौराणिक सम्बन्ध रहेको बताए। उनले विगतमा पनि राम्रो सम्बन्ध रहेको र आगामी दिनमा पनि त्यसले निरन्तरता पाउनेमा आफू आशावादी रहेको बताए।

नेपाललाई भारतीय प्रधानमन्त्री मोदीले पनि महत्त्व दिएको उनको भनाइ थियो। पहिलो कार्यकालमा पटक पटक भ्रमणमा आउनु, विभिन्न धार्मिक सम्पदाको भ्रमण गर्नुमा मोदीको नेपाल मोह झल्किएको उनको दाबी थियो।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी, पूर्वमन्त्रीहरू,वर्तमान सांसदहरू, पूर्वप्रधानसेनापति रुकमाङ्गद कटवाल, पूर्वराजदूतहरू, पूर्वसांसदहरू, विभिन्न पार्टीका नेतालगायतको उपस्थिति थियो।

सार्क पुनर्स्थापना हुनेमा आशङ्का

यसैबीच अन्तरक्रिया कार्यक्रममा “सार्क” पनि विषयले प्रवेश पाएको थियो। पूर्वराजदूत प्रधुम्न शाहले सार्कलाई अगाडि बढाउनेबारे भारतको धारणा के हो? भनेर प्रश्न गरेका थिए। शाहले बिम्स्टेकलाई सार्कको विकल्पका रूपमा अगाडि सार्ने भारतको नीति गलत भएको भन्दै यसमा प्रधानमन्त्री मोदीको धारणा के हो? भन्ने जिज्ञासा राखेका थिए। भारत-पाकिस्तानको आपसी समस्याले सार्कजस्तो संस्था धराशायी हुन नहुने शाहको भनाइ थियो।

जवाफमा डा. चौथाइवालेले ‘भारत वर्तमान अवस्थामा पाकिस्तानसँग एउटै टेबुलमा बस्ने सक्ने अवस्था नरहेको’ धारणा राखे। निर्णय गर्ने अधिकार भारत सरकारको भए पनि आफ्नो पार्टी भने पाकिस्तानसँग कुरा गर्ने पक्षमा नरहेको स्पष्ट पारे।

उनले विगतमा प्रधानमन्त्री मोदीले सम्बन्ध सुधारका लागि पाकिस्तान भ्रमण गर्नुका साथै आफ्नो पहिलो पटकको प्रधानमन्त्रीको शपथग्रहणमा पाकिस्तानसहित सार्क मुलुकका प्रधानमन्त्री र राष्ट्रपति (कार्यकारी प्रमुख)लाई बोलाएको बताए। पाकिस्तानमा रहेका आतंकवादीले भारतमाथि पटक पटक आक्रमण गरेको र त्यहाँको सरकारले ती आतंकवादीविरुद्ध कुनै पनि ठोस कदम नचालुन्जेल पाकिस्तानसँग सम्बन्ध सुधार नहुनेमा आफू विश्वस्त रहेको उनको धारणा थियो।

उनले भारत-पाकिस्तान दुई देशबीचको समस्या रहेकाले अन्य मुलुकले धेरै चासो दिन नहुनेमा पनि सचेत गराएका थिए। केही दिन पहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कश्मीरको मुद्दामा बोले पनि भारत-पाकिस्तानको विवाद दुई पक्षीय भएको चौथाइवालेको भनाइ थियो।

प्रकाशित मिति: Aug 2, 2019

प्रतिक्रिया दिनुहोस्