Logo
१२ श्रावण २०८१, शनिबार
(July 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्रम्प र किमबीच भेटवार्ता भएको एक महिना नपुग्दै दुई पटक क्षेप्यास्त्र परीक्षण र पनडुब्बी

सियोल : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच भेटवार्ता भएको एक महिना नपुग्दै दुई पटक क्षेप्यास्त्र परीक्षण र पनडुब्बी परीक्षण गरिएका छन्।

उत्तर कोरिया र अमेरिकाबीच उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र कार्यक्रम सुल्झाउनेबारेमा कूटनीतिक प्रयत्न भइरहेको छ ।

यही सिलसिलामा एकै वर्ष्भित्र उत्तर कोरिया र अमेरिकाका शीर्ष नेताहरुबीच तीन पटक भेटवार्ता भइसकेको छ । कोरियाली संकट समाधानका बारेमा केही अघि अबरुद्ध भएको वार्ता पुनः शुरु गर्ने सहमति भएको छ, तर त्यस्तो वार्ता अझै शुरु हुन सकेको छैन।

राष्ट्रसंघीय प्रतिबन्धका कारण मुलुकको अर्थतन्त्र थिल्थिलो भए पनि उत्तर कोरियाले आणविक र अन्य अत्याधुनिक हतियार निर्माणको कार्यलाई तीव्र बनाइरहेको छ ।

उत्तर कोरियाले एकपछि अर्को अत्याधुनिक हातहतियारको परीक्षण गरिरहेको दक्षिण कोरियाले आरोप लगाएको छ ।

उत्तर कोरियाले बुधबार दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। संयुक्त राज्य अमेरिकासँग मिलेर दक्षिण कोरियाले संयुक्त सैनिक अभ्यास गर्न लागेकोप्रति असन्तोष प्रकट गरेको उत्तर कोरियाले पछिल्ला केही महिनादेखि चरणबद्ध रुपमा हातहतियारको परीक्षण गरिरहेको छ ।

उत्तर कोरियाको वोनसान क्षेत्रबाट पूर्वी तटीय क्षेत्रमा बुधबार बिहानै दुईवटा क्षेप्यास्त्र प्रहार गरिएको र यो करिब २५० किलोमिटर टाढा झरेको दक्षिण कोरियाली प्रधान सेनापतिले बताएका छन् ।

सेनापतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा निरन्तर भइरहेका हतियार परीक्षणले कोरियाली द्वीपमा उत्पन्न तनाब कम हुन नसक्ने जनाउँदै उत्तर कोरियालाई धैर्य राख्न अनुरोध गरिएको छ ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले पारित गरेको प्रस्तावमा उत्तर कोरियालाई ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्न प्रतिबन्ध लगाइएको छ तर एक हप्ताभित्रै उत्तर कोरियाको यो दोस्रो क्षेप्यास्त्र प्रहार हो ।

प्रकाशित मिति: Jul 31, 2019

प्रतिक्रिया दिनुहोस्