Logo
१२ श्रावण २०८१, शनिबार
(July 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री र सचिवलाई प्रधानमन्त्रीले बोलाए एकाएक सिंहदरवार

काठमाडौँ : केही मन्त्री र सचिवहरुको कामकारवाहीप्रति असन्तुष्ट बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्री र मन्त्रालयका सचिवहरुलाई आ-आफ्ना आगामी कार्ययोजना र विगतका कार्यप्रगतिबारे छलफल गर्नका लागि सिंहदरवार बोलाएका छन् ।

सरकारका कामकारवाहीप्रति सत्तारुढ दलकै कतिपय नेताहरुले प्रश्न गरिरहेका बेला प्रधानमन्त्री ओलीले सवै मन्त्री र सचिवहरुसँगको छलफलका लागि सिंहदरवारमा साढे १० बजे बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता विनोद कुँवरले जानकारी दिए ।

मन्त्रीहरु र सचिवहरुसँगको छलफलमा प्रधानमन्त्रीले चालू आर्थिक वर्षको बजेट कार्यान्वयन र योजनाका बारेमा सामुहिक छलफल गर्दै योजना कार्यान्वयनको प्रतिबद्धता माग्नेछन् ।कार्यक्रममा हरेक मन्त्रालयले प्रधानमन्त्रीलाई चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका योजनाबारे प्रस्तुति दिनेछन् ।

गत आर्थिक बर्षमा बजेट कार्यान्वयनमा सरकार कमजोर देखिएपछि प्रधानमन्त्री ओलीले सबैसँग कार्ययोजना मागेका थिए । सोही अनुसार उनले असार २६ गते मन्त्री र सचिवहरुसँग मौखिक कार्ययोजना मागेका थिए । प्रधानमन्त्री ओलीले यसपटक भने लिखित प्रतिबद्धता माग्ने भएका छन् ।

‘पहिला मन्त्री र सचिवहरुको प्रस्तुती सुन्नुहुनेछ । त्यसपछि कार्यक्रम प्रभावकारी बनाउन आवाश्यक ठाने लिखित प्रतिबद्धता माग्नसक्नुहुनेछ,’ प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले भने, ‘चित्तबुझ्दो प्रतिबद्धता नआए हायर एण्ड फायरको स्थिति पनि आउन सक्छ’ उनले भने, ‘केही मन्त्री र सचिवहरुको कामकारवाहीप्रति प्रधानमन्त्री सन्तुष्ट नभएको बुझिएको छ ।’

 

प्रकाशित मिति: Jul 31, 2019

प्रतिक्रिया दिनुहोस्