निर्मला प्रकरणबारे गृहमन्त्रीलाई सांसदहरुको प्रश्न : ९२ प्रतिशत अनुसन्धान सकेको १ वर्ष भइसक्यो, खै कहाँ छन् त अपराधी ?
काठमाडौं : कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्या प्रकणमा गृहमन्त्री रामबहादुर थापाले दिएको अभिव्यक्तिबारे सांसदहरुले असन्तुष्ट बनेका छन् ।
मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी सांसदहरुले निर्मला प्रकरणबारे गृहमन्त्रीको पछिल्लो विवादास्पद अभिव्यक्तिको पनि प्रतिवाद गरे ।
नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले निर्मला प्रकरण जस्तै घटना भइरहन्छन् भनेर गृहमन्त्री थापाले दिएको अभिव्यक्ति निन्दनीय भएको बताइन ्। ‘गृहमन्त्रीले यस्ता घटना भइरहन्छन् भनेको सुन्यौँ, यसको अर्थ के हो?’, संग्रौलाले भनिन्, ‘निर्मला प्रकरणमा ९२ प्रतिशत अनुसन्धान सकियो भनेको एक वर्ष भइसक्यो। खै कहाँ छन् त अपराधी?’
सांसद संग्रौलाले गृहमन्त्री थापा, गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसमेत उपस्थित समितिको बैठकमा निर्मला प्रकरणमा सरकार पुरै फेल भएको आरोप लगाइन्। ‘सिंहदरबार र बालुवाटारको कुर्सीमा भए पनि अपराधी समातेर ल्याउँछु भन्नु भएको थियो, त्यो के भयो?’, संग्रौलाले भनिन्, ‘आठ प्रतिशत अनुसन्धान के भयो? ९२ प्रतिशत अनुसन्धान त गत वर्ष नै सकिएको भन्नुभएको थियो, खोई त परिणाम।’ गृहमन्त्री थापाले आफ्नो मन्त्रालयको एक वर्षे प्रतिवेदन सार्वजनिक गर्ने क्रमा दिएको अभिव्यक्तिको पनि सांसदहरुले आलोचना गरे । ‘गृहमन्त्रीले एक वर्ष पुग्न २-३ दिन अगाडि निर्मला प्रकरण जस्ता घटना हिजो भए, आज छन् र भोली पनि भइरहन्छन् भन्दा जनतालाई इरिटेड गरायो’, संग्रौलाले भनिन्, ‘यसअघि संसदीय समितिमा नै दिलीपसिंह विष्ट नै दोषी हो भन्ने कुरा गर्नुभयो। यस्तो अभिव्यक्ति कसरी आयो?’
मानसिक सन्तुलन गुमाएका भनिएका विष्टलाई प्रहरीले पहिले २६ दिन थुनेर छाडेको स्मरण गराउँदै संग्रौलाले फेरि उनैलाई दोषी देखाउन खोजिएको आधारबारे प्रश्न गरिन्। ‘डिएनए परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि थियो। अपराधी बनाइसकेका उनै विष्टलाई छाड्नु भयो। अहिले उसैलाई अपराधी भन्नुभयो’, उनले भनिन्, ‘ऊ डिएनए परीक्षणमा फेल भएर छुटिसकेको छ। फेरि तपाईँको यस्तो बोलीले कानुन आफ्नो हातमा लिने जस्तो कुरा भयो। तपाईंको बोलीले त अझै हजारौँ निर्मलाहरु बलात्कृत हुने मानिने भए ।’