Logo
१२ श्रावण २०८१, शनिबार
(July 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुटुरोगको उपचार सेवा दिने नेपालको एक मात्र पूर्ण सरकारी अस्पतालमा जनशक्तिको अभाव

बाँके : मुटुरोग उपचारका लागि २०७४ असारदेखि क्थाथ ल्याब सेवा सुरु गरेको भेरी अस्पतालको सेवा पछिल्लो समयमा प्रभावित हुँदै गएको छ। विशिष्टिकृत स्वास्थ्य सेवाअन्तर्गतको मुटुरोग उपचार सेवा सञ्चालनका लागि स्थापना गरिएको भेरी अस्पतालको क्थाथ ल्याब सेवा बजेट र जनशक्तिको अभावका कारण सेवा प्रभावित भएको हो ।

भेरी अस्पताल मुटुरोगको उपचार सेवा दिने नेपालको एक मात्र पूर्ण सरकारी अस्पताल हो। छ करोड ५० लाख रुपैयाँ लागतमा अस्पतालमा क्थाथ ल्याब मेसिन जडान गरिएको भए पनि क्याथ ल्याब सञ्चालन गर्न अस्पतालमा नवौँ तहका एक मात्रै मुटुरोग विशेषज्ञ चिकित्सकको दरबन्दी खाली छ । जसका कारण सेवा प्रभावित भएको हो ।

अस्पतालमा रहेका नवौँ तहका मुटुरोग विशेषज्ञ डा. कृष्ण अधिकारीको बढुवा भएर सरुवा भइसकेको छ। यसपछि अस्पतालमा मुटुरोग विशेषज्ञ पद खाली रहेको छ। स्वास्थ्य मन्त्रालयले उनको ठाउँमा मुटुरोग विशेषज्ञ अझै नपठाउँदा अस्पतालमा मुटुरोग उपचार सेवा प्रभावित भएको हो। उक्त सेवाका लागि अस्पतालले मेडिकल अफिसर, स्टाफ नर्स र कार्यालय सहयोगी गरी १६ कर्मचारी करारमा राखेको छ ।
तर बजेट निकासा नहुँदा करारमा राखिएका मेडिकल अफिसर, स्टाफ नर्सहरुलाई यो महिनादेखि तलब भत्ता दिन नसक्ने अवस्था आएको अस्पताल व्यवस्थापनले जनाएको छ। बजेट र जनशक्ति अभावले क्याथ ल्याब सेवा सञ्चालनमा समस्या भएको अस्पतालका प्रमुख डा. रुपानन्द अधिकारीले बताए ।
“क्याथ ल्याब सञ्चालन भएको दुई वर्ष बितिसक्दा पनि आवश्यक जनशक्ति र बजेटको व्यवस्था नहुँदा मुटुरोग उपचार सेवा सङ्कटमा परेको छ’, अस्पतालका प्रमुख डा. अधिकारीले भने, ‘क्याथ ल्याब सेवामा कार्यरत मेडिकल अफिसर, स्टाफ नर्सहरुलाई तलबभत्ता दिन र अत्यावश्यकीय सामग्रीहरु खरिद गर्न वार्षिक एक करोड ५० लाख रुपैयाँ बजेट आवश्यक पर्छ, यसका लागि सरकारले समयमै जनशक्ति र बजेट व्यवस्था गर्नुपर्छ ।‘ ‘मुटुरोगजस्तो अत्यन्त संवेदनशील उपचार सेवामा बजेट र जनशक्ति नहुँदा यसअघि पनि तनावपूर्ण अवस्थामा काम गर्नुपर्ने बाध्यता थियो’,

सरुवा भएका अस्पतालका प्रमुख कन्सल्टेन्ट कार्डियोलोजिष्ट डा. कृष्ण अधिकारीले बताए। अस्पतालले मुटुरोगका बिरामीको उपचारलाई थप प्रभावकारी बनाउन एन्जियोप्लाष्टी, एन्जियोग्राफी, अस्थायी पेशमेकर राख्ने सेवा पनि सञ्चालन गर्दै आएको छ। अस्पतालले हालसम्म १०० भन्दा बढीको एन्जियोग्राफी, १८ बिरामीको एन्जियोप्लाष्टी तथा आठ बिरामीमा अस्थायी पेशमेकर राखेर उपचार गरिसकेको छ। भेरी अस्पतालले काठमाडौँस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रले लिने बराबरकै शुल्क लिएर बिरामीलाई मुटुरोगको उपचार सेवा प्रदान गर्दै आएको छ ।

अस्पतालमा मुटुरोगसँग सम्बन्धित दैनिक ४० बिरामी उपचारका लागि आउने गरेको जनाएको छ। तीमध्ये करिब ७० प्रतिशत उच्च रक्तचापसम्बन्धी बिरामी रहेका छन्। अस्पतालमा मुटुको नशा साँघुरो भएका र हृदयघातसम्बन्धी समस्या भएका करिब १० प्रतिशत बिरामीका साथै जन्मजात मुटुको समस्या भएका, मुटुको चालमा गडबडी भएका, मुटुको वरिपरि पानी भरिएका, मुटुको बाथ रोगसम्बन्धी समस्या भएका बिरामी रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: Jul 30, 2019

प्रतिक्रिया दिनुहोस्