Logo
१२ श्रावण २०८१, शनिबार
(July 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्नी सीतालाई लिएर ‘प्रचण्ड’ दुबई प्रस्थान, प्रधानमन्त्री ओली सिंगापुर जाँदै

काठमाडौं : पत्नी सीतालाई लिएर नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश यात्रामा निस्केका छन् । भने प्रधानमन्त्री तथा अर्को अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि शनिबार सिंगापुर जाने भएका छन् ।

पत्नी सीतालाई लिएर अध्यक्ष ‘प्रचण्ड’ दुवईतर्फ प्रस्थान गरेका छन् । मंगलबार बिहान साढे ९ बजे दाहाल फ्लाई दुबईको उडानमार्फत दुबईतर्फ लागेका हुन् । दाहालको यो भ्रमण पत्नी सीताको इच्छामा भएको हो ।

अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ का अनुसार यो विशुद्ध पारिवारिक भ्रमण हो । ‘सीताले लामो समयदेखि दुबई घुम्न जाने इच्छा राख्नु भएको थियो ।

तर अध्यक्षले व्यवस्ताले लैजान पाउनु भएको थिएन’, सापकोटाले भने, ‘यो पटक सीतासँगै छोरी रेणु र गंगा पनि दुबई जानु भएको छ।’ अध्यक्ष प्रचण्डको सचिवालयले सीताको दुबई घुम्ने इच्छा पुरा गर्न प्रचण्डसहित छोरीहरु रेणु र गंगासँगै नाति नातिनी पनि त्यसतर्फ गएका हुन् ।

‘अध्यक्ष दाहाल विशुद्ध पारिवारिक भ्रमणमा निस्कनु भएको हो’, सापकोटाले भने, ‘उहाँहरु दुबईको भ्रमण सकेर १८ साउनमा स्वदेश फर्कनु हुन्छ ।’ सीता लामो समयदेखि बिरामी छिन्।

अध्यक्ष दाहलले उनको सिंगापुरमा लामो उपचार गराएका थिए । त्यसपछि नेपालमै पनि सीता प्राकृतिक उपचार गरिएको थियो । दाहालमा प्रेसर, सुगरसहित शरीर कुँजिने लगायतका समस्या छन् ।

प्रधानमन्त्री ओलीपनि थप फलोअपका लागि विदेशतिर

गत शुक्रबार सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गराएका प्रधानमन्त्री ओली थप फलोअपका लागि विदेश जान लागेका हुन् । उनी केही दिन विदेश जान लागेको सोमबार नेकपा सचिवालय बैठकमा पनि जानकारी गराइएको थियो ।

मृगौला प्रत्यारोपण गरेका ओलीले नियमित स्वास्थ्य परीक्षण गर्दै आएका छन् । विदेशमा परीक्षण गर्न जानेबारे प्रधानमन्त्रीले केही दिनअघि निजी चिकित्सक दिव्यासिंह शाहसहित डाक्टरहरूसँग परामर्श गरेका थिए ।

स्रोतका अनुसार गत शुक्रबार सैनिक अस्पताल छाउनीमा प्रधानमन्त्री ओलीको नियमित ल्याब परीक्षणसहित यूएसजी ग्याइडेड ‘रेलन बायोप्सी’ गरिएको थियो । चिकित्सकका अनुसार रेनल (मृगौलाको) बायोप्सीमा एउटा सुईको माध्यमले मृगौलाको तन्तुको सानो नमुना निकालिन्छ ।

कहिलेकाहीं यो परीक्षण प्रत्यारोपण गरिएको मृगौलाले कसरी काम गरिरहेको छ भनेर मूल्यांकन गर्न गरिन्छ । यसको परीक्षण मृगौलाको कार्यप्रणालीमा कमी, पिसाबमा निरन्तर रगत वा प्रोटिन देखिए पनि गरिन्छ ।

मृगौला प्रत्यारोपण गरेका व्यक्तिको प्रत्यारोपणलगत्तै पनि यस्तो बायोप्सी गरिन्छ । प्रधानमन्त्री ओलीको १२ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको हो । ६ वर्षअघि उनको हातमा संक्रमण भएको थियो ।

निकै लामो समय उपचार गरेर निको भएको थियो । उनले दिल्ली र थाइल्यान्ड गएर उपचार गरेका थिए । त्यसपछि उनी नियमित फलोअपमा थाइल्यान्ड जाने गरेका छन् ।

गत वर्ष प्रधानमन्त्रीको शपथ लिनु केही दिनअघि बैंककस्थित ब्रुमरुग्रान्ड इन्टरनेसनल अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए । प्रधानमन्त्री भएपछि स्वास्थ्य परीक्षण गर्न विदेश गएका थिएनन् ।

प्रकाशित मिति: Jul 30, 2019

प्रतिक्रिया दिनुहोस्