Logo
१६ फाल्गुन २०८०, बुधबार
(July 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवाहकाे सल्लाह हुँदा हुँदै छुरा प्रहार गरी प्रेमिकाको हत्या गर्ने प्रेमि १२ वर्षपछि पक्राउ

काठमाण्डौं : नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले हत्या गरी फरार अभियुक्तलाई १२ वर्षपछि पक्राउ गरेको छ । ब्यूरोको टोलीले २०६४ साल पुस २७ मा ललितपुर इमाडोल गाविस हाल ललितपुर महानगरपालिका-१५ इमाडोलमा मकवानपुरका २२ वर्षीय तारा भन्ने सुनिता लामाको हत्या गर्ने काभ्रेपलाञ्चोकका ३७ वर्षीय राजेश लामालाई साउन १० गते पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोले आज पत्रकार सम्मेलन गरी इमाडोल गाविस-५ सुवेदीगाउँस्थित डम्बरबहादुर गुरुङको घरमा डेरा गरी बस्ने लामाको हत्यामा संलग्न राजेशलाई सानेपाबाट पक्राउ गरिएको जानकारी दिएको हो । सम्मेलनमा ब्यूरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक निरजकुमार शाहीले राजेश र ताराको बिहे गर्नका लागि सिन्दूर पोते गर्ने सल्लाह भए पनि ताराको अर्को केटासँग प्रेम सम्बन्ध भएपछि हत्या गरेको अनुसन्धानमा खुलेको जानकारी दिए ।

“घटना घट्नुभन्दा ६/७ महिना पहिलादेखि राजेशको तारासँग प्रेम सम्बन्ध भएको र ताराको कोठामा आउनेजाने गरेको तर बिहे गर्ने बेलामा ताराको अर्को केटासँग सम्बन्ध भएको थाहा भएपछि हत्या गरिएको अनुसन्धानमा खुलेको छ”, उनले भने । विवाह रद्द भएपछि गाउँमा बेइज्जत भएको महसुुस गरी रु एक हजारको छुरा किनेर ताराको हत्या गरेको ब्यूरोले जनाएको छ ।

मृतक ताराको कोठामा आएर कोही नभएको मौका छोपी शरीरको विभिन्न भागमा पटक-पटक छुरा प्रहार गरी हत्या गरिएको थियो । हत्या गरेपश्चात् राजु लामाको परिचय बनाई हेटौँडाको एक होटलमा काम गरी बसेको र पछि काठमाडौँ आएर विभिन्न व्यक्तिको घरमा रङ लगाउने काम गरेको ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए ।

पक्राउ परेका राजेशलाई जिल्ला अदालत ललितपुरबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति: Jul 28, 2019

प्रतिक्रिया दिनुहोस्