विश्वकप एशिया छनोट : १० रनले हार व्यहोर्दै कतार
आइसिसी टी-ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोटअन्तर्गत आज भएको खेलमा कुवेतले कतारलाई १० रनले पराजित गर्दै विजयी भएको छ ।
सिङ्गापुरको इण्डियन एसोसिएशन क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाउँदै १९७ रनको योगफल बनायो । कुवेतका लागि अदनान आर्डिसले ५६ रनको उत्कृष्ट इनिङ खेले भने मिट भावसारले ३५ तथा उस्मान वहीदले २८ रनको योगदान दिए । बलिङतर्फ कतारका लागि तमोर सज्जाद र इकवाल हुसेनले समान २/ २ विकेट लिए ।
जीतका लागि १९८ रनको विजयी लक्ष्य बोकेर मैदान उत्रेको कतार निर्धा्रित २० ओभरमा ५ विकेट गुमाउँदै १८७ रनमा समेटियो । कतारका लागि तमोर शज्जादले सर्वा्धिक ४६ रनको योगदान दिए भने नोमान शनवारले ३४, इनाम उक हलले २८ तथा फैसल जाभेदले २५ रन जोडे ।
कुवेतका शिराज खान र जनदु हमौदले २/ २ विकेट झारे । यस हारसँगै तीन खेल खेलेको कतार एक खेलमा जीत तथा दुई खेलमा हार बेहोर्दै २ अङ्क जोडेको छ । अङ्क तालिकाको अन्तिम स्थानमा रहेको कतार प्रतियोगिताबाट लगभग बाहिरिएको छ ।
त्यस्तै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना भने कायमै रहेको छ । यसअघि दुई खेल खेलेको नेपालले एक खेलमा हार तथा एक खेलमा जीत हासिल गरेको छ । नेपाल पहिलो खेलमा कतारसँग पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले मलेसियालाई पराजित गरेको थियो । नेपाल अङ्क तालिकाको चौथो स्थानमा छ ।
प्रतियोगितामा नेपालसहित मलेसिया, कतार, आयोजक सिङ्गापुर र कुवेत सहभागी छन् । उक्त प्रतियोगिताको विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउनेछन् ।
जारी प्रतियोगितामा आयोजक सिङ्गापुरले ३ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ भने समान ३ अङ्क नै जोडेको कुवेत नेट रन रेटको आधारमा दोस्रो स्थानमा छ । त्यस्तै २ अङ्क बटुलेको मलेसिया नेट रन रेटका आधारमा तेस्रो स्थानमा छ । नेपालले आफ्नो तेस्रो खेल भोलि कुवेतसँग खेल्नेछ ।