Logo
१२ श्रावण २०८१, शनिबार
(July 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्कुल र संगठन विभाग लिन नेताहरुबीच हानथाप, पोखरेल-श्रेष्ठको विकल्पमा छलफल

काठमाडौं : नेकपाको नियमावली २०७५ मा ३२ वटा विभाग छन् । जसमा स्कुल विभाग र संगठन विभागहरु महत्वपूर्ण मानिन्छन् । सोहि अनूसार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले स्कुल विभाग दावी गर्दै आएका थिए । तर स्कुल विभाग दावी गर्दै आएका दुवै नेतालाई नदिने निर्णय भएको छ ।

पार्टीको विचार र सैद्धान्तिक लाइन कार्यकर्तासम्म लैजाने स्कुल विभाग दाबी गर्दै आएका नेताहरु इश्वर पोखरेल र नारायणकाजी श्रेष्ठ दुवैले नपाउने भएका हुन् ।

पार्टीले जनताको जनवादको लाइन लिने भएपछि असन्तुष्ट रहँदै आएका इश्वर पोखरेलले स्कुल विभागमा दाबी गरेका थिए । त्यसपछि उक्त विभागमा नेकपा प्रवक्ता समेत रहेका नेता नारायणकाजी श्रेष्ठले पनि दाबी गरेपछि विवाद चुलिएको थियो । पोखरेलले स्कुल विभागमा बलियो दाबेदारी प्रस्तुत गरेपछि अर्का नेता श्रेष्ठ पनि अघि सरेका थिए ।

दुई नेताबीचको स्कुल विभागको विवाद व्यक्तिगत तहसम्म पुगेको थियो । स्कुल विभागको विवाद चर्किएपछि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गृहकार्य गर्न समय मागेका थिए । दुई अध्यक्षले गृहकार्यको समय मागेपछि सचिवालयको बैठक पनि पछि धकेलिएको थियो ।
संगठन विभागसहित अन्य ३१ वटामा दुई अध्यक्षले सहमति जुटाइसकेका छन्। संगठन विभागमा वामदेव गौतमले बलियो दाबेदारी प्रस्तुत गरेका छन् । तर त्यसबारे सचिवालयले कुनै निर्णय गरेको छैन । दुई अध्यक्ष वामदेवलाई संगठन विभाग दिन तयार रहेको स्रोत बताउँछ ।
पोखरेल र श्रेष्ठसँगै कार्यकर्तामाझ लामो समयदेखि प्रशिक्षण चलाउँदै आएका घनश्याम भुसाल र बेदुराम भुसालले पनि स्कुल विभागमा दाबी गरेका थिए। तर दुई अध्यक्षहरुले स्कुल विभाग कसैलाई नदिइ आफैँ राख्ने तयारी गरेको स्रोत बताउँछ ।

दुई नेताको तनावबीच झलनाथ खनाललाई स्कुल विभाग दिने चर्चा पनि थियो। ‘तर अब दुवै अध्यक्षहरु स्कुल विभाग आफैँ राख्ने निचोडमा पुग्नु भएको छ’, स्रोत भन्छ, ‘विवाद नलम्ब्याई अब पार्टी एकतालाई पूर्णता दिने सहमति दुई अध्यक्षबीच भएको छ । अबको सचिवालय बैठकले सबै कुराको टुंगो गर्छ ।’

दुई अध्यक्षले विभाग बाँडफाँट गरिसकेका छन् । ३२ विभागमा १८ पूर्वएमालेलाई र १४ पूर्वमाओवादीलाई दिने गरी सहमति जुटिसकेको छ । अन्य भन्दा शक्तिशाली मानिने भएकाले स्कुल र संगठन विभाग लिन नेताहरुबीच हानथाप हुने गरेको छ ।

पार्टीले जनताको जनवादको लाइन समातेको अवस्थामा कुनै पनि हालतमा इश्वर पोखरेललाई स्कुल विभाग दिन नहुने अडानमा छन् पूर्वमाओवादी समूह । स्वयम् अध्यक्ष दाहाल पनि पोखरेलप्रति सकारात्मक नरहेको स्रोत बताउँछ। पार्टी एकताका क्रममा पोखरेलले माओवादीबारे गरेका तिखा टिप्पणीलाई लिएर प्रचण्ड रुष्ट रहँदै आएका छन्।

यस्तोमा पोखरेललाई स्कुल विभाग नदिन पूर्वमाओवादी समूको बैठक नै बसेको स्रोत बताउँछ । पार्टीले जनताको जनवाद लाइन लिइसक्दा पोखरेलले जनताको बहुदलीय जनवाद लिएर गाउँ गाउँ जाने बताएपछि प्रचण्ड पनि रिसाएका छन् ।

पार्टीको राजनीतिक प्रतिवेदनमा स्पष्ट जनताको जनवाद उल्लेख छ । यस्तो अवस्थामा इश्वरलाई स्कुल विभाग दिए उनले जनताको बहुदलीय जनवाद लिएर हिँड्ने कुरामा सशंकित छ पूर्वमाओवादी समूह ।

प्रकाशित मिति: Jul 25, 2019

प्रतिक्रिया दिनुहोस्