Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इतिहासमै पहिलोपटक लाेकसेवा आयोगविरुद्ध मसाल जुलुस

काठमाडौं : इतिहासमै पहिलो पटक लोकसेवा आयोग विरुद्ध आन्दोलन भएको छ । आयोगको विज्ञापन रद्द गर्न माग गर्दै सुरु गरिएको आन्दोलन अनुरुप आइतबार साँझ काठमाडौं उपत्यकामा मसाल जुलुस निकालिएको हो।

‘आरक्षण बचाऔ आन्दोलन’ले घोषणा गरेको नेपाल बन्दसहितको आन्दोलन अनुरुप आइतबार काठमाडौंको सुन्धारादेखि, न्युरोड, जुद्धशालिक, असन हुँदै रत्नपार्कस्थित शान्तिवाटिकासम्म मसाल जुलुस निकालिएको हो ।

मसाल जुलुस निकाल्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा दुई पक्षबीच सामान्य झडप पनि भएको थियो ।प्रहरीले पटक–पटक मसाल जुलुस रोक्ने प्रयास गरेपछि झडपको अवस्था सिर्जना भएको हो । तर पनि मसाल जुलुस निकालेरै छोडेको नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले सार्वजनिकसँग बताए ।

सो क्रममा प्रहरीले चन्देश्वर दास नाम गरेका एक जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले आन्दोलनकारीले प्रयोग गरेको एउटा गाडी समेत कब्जा गरेको छ ।

आन्दोलनकारीहरुले ‘लालबाबु पण्डित मुर्दावाद, उमेश मैनाली मुर्दावाद, प्रहरी दमन मुर्दावाद, असमावेशी विज्ञापन खारेज गर’ लगायत नारासहित जुलुस निकालेका हुन् ।

शान्तिवाटिकामा आयोजित जुलुस समापन सभामा महासंघका अध्यक्ष जगत बरामले प्रहरीले नियन्त्रणमा लिएका चन्देश्वर दासलाई तत्काल रिहाई गर्न माग गरे । ‘रिहाई नगरे सरकारले ठूलो मुल्य चुकाउनुपर्नेछ,’ उनले भने ।

उनले आरक्षणकै कोटामा प्रहरी भएर आरक्षणकै आन्दोलनमाथि हस्तक्षेप गरेको भन्दै प्रहरीको आलोचना गरे ।
उनले आन्दोलनमाथि दमन गर्ने प्रयास गरे झडप मात्रै नभएर विस्फोट हुने चेतावनी दिए ।

‘असार ३१ गते माइतीघरमा विशाल जनप्रंदर्शन गर्दैछौ,’ बरामले भने, ‘आन्दोलनमाथि प्रहरीले दमन गरे झगडा मात्रै होइन विस्फोट हुन्छ ।’

नेवा समुदायको तर्फबाट श्रीकृष्ण महर्जनले समापन सभामा बोलेका थिए । महर्जनले आरक्षणको आन्दोलनमा नेवा समुदायको पूर्ण रुपमा ऐक्यवद्धता रहेको बताए ।

‘नेवा समुदायको यो आन्दोलदनमा पूर्ण रुपमा ऐक्यवद्धता छ, हामी हजारौ मान्छे उतार्छौ,’ उनले भने, ‘हामी यो आन्दोलनलाई टुंगोमा पुर्याएरै छाड्छौ ।’

दलित समुदायको तर्फबाट बोल्दै बुद्धी नेपालीले आफूहरुको आन्दोलन संघीयता र समानुपातिक समावेशी पक्षधरको आन्दोलन भएको बताए । उनले दुई तिहाईको कम्युनिष्ट सरकारले देश चलाएको छ कि कर्मचारीले ? भन्दै प्रश्न गरे ।
उनले आयोगको विज्ञापन सच्याउन आग्रह गरे ।

‘जबरजस्ती अघि बढ्न खोज्यौ भने परिस्थिति भयानक हुन्छ,’ उनले चेतावनी दिए । मधेसीको तर्फबाट विकास ठाकुरले आइतबारको मसाल जुलुस आन्दोलनको कास्टिङ मात्रै भएको बताए ।
उनले आदिवासी जनजाति, मधेसी, मुस्लिम दलित समुदायलाई वर्तमान सरकारले मुल धारमा आउनबाट रोक्ने प्रयास गरेको बताए । उनले भने, ‘तर अब हामी दास बन्ने छैनौ ।’

आन्दोलनकारीहरुले उपत्यकाको १७ ठाउँबाट एकसाथ मसाल जुलुस निकाल्ने बताए पनि उनीहरुले सुन्धाराबाट मात्रै मसाल जुलुस निकालेका हुन् । प्रहरीले हस्तक्षेप गर्ने भएपछि उनीहरुले आन्दोलनको रणनीतिअनुसार १७ ठाउँबाट मसाल जुलुस निकाल्ने प्रचार गरेका हुन् ।

प्रकाशित मिति: Jul 15, 2019

प्रतिक्रिया दिनुहोस्