Logo
१२ श्रावण २०८१, शनिबार
(July 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बर्दिबासको भप्सी पुल भत्किँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध, कयौँ यात्रु अलपत्र

बर्दिबास :  दिनानुदिन परेको भारी वर्षाका कारण नदीमा पानीको बहाव बढेपछि बर्दिबासको भप्सी पुल भत्किएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी बर्दिवास नगरपालिकास्थित भप्सी पुल बाढीले बगाएको छ । त्यसरी पुलको बीच भाग नै वर्षाका कारण भत्किएपछि आवागमन अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए ।

राति १२ बजेर १० मिनेटको समयमा पुल भत्किएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरलेजनाएका छन् । पुल भत्किएपछि बर्दिवास नगरपालिका-५ सशस्त्र प्रहरीको माईस्थान चेकपोष्टतर्फ र रातुखोलातर्फ सयौँ गाडी रोकिएका छन् । रातिदेखि नै यात्रु सडकमा अलपत्र छन् । कतिपय यात्रु भने जोखिम मोलेर खोलाको बाढी तरेर वारपार गरेका छन् ।

बर्दिवास नगरपालिका-१ मा रहेको पानी खोल्सीले राजमार्ग पनि भत्काएको छ । त्यहाँका ५ घरमा गिट्टी माटो पसेको स्थानीयले जानकारी दिएका छन् । रातिदेखि नै नेपाल टेलिकमका मोबाइलमा सम्पर्क नहुने समस्या पनि आएको छ ।

आज बिहान विपत् व्यवस्थापन समितिको बैठक बसेको छ । बैठकले जिल्लामा उद्धार तथा राहतका लागि सक्रियतापूर्वक जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ । बर्दिवासको १४ नम्बर बजारका केही घरमा सडकको पानी पसेको छ भने किसाननगरमा ३ वटा घर भत्किएको बर्दिवास नगरपालिका-७ का अध्यक्ष फागुनी मगरले बताए ।

अहिले पनि गाडी सञ्चालन गर्न सक्ने अवस्था नरहेको र धेरै यात्रु अलपत्र पर्ने अवस्था आएको उनले बताए । अहिले नदीमा पानीको बहाव बढ्नुका साथै वरपर जलमग्न भएकाले डाइभर्सन गर्न सक्ने अवस्था पनि नरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jul 13, 2019

प्रतिक्रिया दिनुहोस्