Logo
८ असार २०८२, आईतबार
(July 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, १० जना बेपत्ता

काठमाडौं :  बिहीबार साँझदेखि परेको अविरल वर्षाले गर्दा देशभरको जनजीवन कष्ठकर बनेको छ । हालसम्म खोटाङ, भोजपुर, काभ्रे, काठमाडौं, ललितपुर, पर्सा, बारालगायतका जिल्ला गरी २१ जनाले ज्यान गुमाइसकेका छन् ।

सबैभन्दा बढी खोटाङ र काठमाडौंमा ३/३ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोमा परेर १० जना घाइते भएका छन् भने १० जना बेपत्ता भएका छन् । बेपत्ताहरुको खोजी कार्य भइरहेको प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले जानकारी दिए । थापाका अनुसार विभिन्न ठाउँबाट अलपत्र परेका ५० जनाको रेस्क्यू गरिएको छ ।

प्रभावित क्षेत्रहरुमा सम्बन्धित प्रहरी कार्यालयबाट सम्पूर्ण जनशक्ति, स्रोत साधन परिचालन गरी उद्दार कार्य जारी रहेको एसपी थापार्ले जानकारी दिए ।

ज्यान गुमाउनेहरु :

काभ्रे
बनेपा-३, नालामा भूकम्प पीडितको घरमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगाल छन् । घटनामा दंगालकी बुहारी ३० वर्षीया सुशीला दंगाल र तीन महिने नातिनी अनुस्का दंगाल घाइते छन् ।

रामेछाप
यस्तै रामेछापमा पनि पहिरोले पुरिएर ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ ।

भोजपुर
पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले लागेर बासिखोराका ६६ वर्षीय जगतबहादुर राईको मृत्यु भएको हो । यस्तै टेम्केमैयुङ गाउँपालिका-९, लेखर्कका १४ वर्षीय बालक जनक विकको पनि शौच गर्ने क्रममा पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको छ ।

ललितपुर
अविरल वर्षासँगै आएको पहिरोले पुरिँदा ११ वर्षीय बालक सरोज जिम्बाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै अन्य एक व्यक्तिको पनि मृत्यु भएको छ ।

काठमाडौं
उपत्यकाको मुलपानीमा पनि पहिरोले पुरिएर एकैपरिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा घर भई कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, शर्मिला यादव र १० वर्षीय कुन्दन यादव छन् ।

पर्सा
पर्सामा पनि बाढीले बगाएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सागढी नगरपालिका वडा नं १ बस्ने १० बर्षका निखिल पटेल रहेका छन् ।

मकवानपुर
मकवानपुरको थाहा नगरपालिका-३ की बालिका १४ वर्षीया सञ्चना बलामीको पनि बाढीले बगाउँदा मृत्यु भएको छ ।

धादिङ
गजुरी गाउँपालिका-४ दरिमटारमा घर भत्किँदा ८ वर्षीया अस्मिता तामाङको मृत्यु भएको छ ।

सिन्धुली
फिक्कल गाउँपालिका-१ झिल्के नयाँ गाउँमा पहिरोले गोठ भत्किँदा ३५ वर्षीया हेमकुमारी सुनुवारको मृत्यु भएको छ ।

खोटाङ
खोटाङमा रेखा राई, रोमन राई र रोहन राईको पनि ज्यान गएको छ । वेपत्ता भएका उनीहरुको ५ घण्टापछि शव फेला परेको हो । यस्तै ३० वर्षीया विष्णुकुमारी राई घाइते भएकी छन ।

यस्तै इलाम, झापा, ओखलढुङ्गा, बारामा पनि १/१ जनाको मृत्यु भएको छ । उनीहरुको सनाखत नभएको प्रहरीले जनाएको छ ।

१० जना बेपत्ता
प्रहरी प्रधान कार्यालयका अनुसार पाँचथर, झापा, मोरङ, सुनसरी, रौतहट, महोत्तरी, मकवानपुर, धादिङ, काठमडौंमा गरी १० जना बेपत्ता भएका छन् । सुनसरीमा २ जना वेपत्ता छन् ।

प्रकाशित मिति: Jul 13, 2019

प्रतिक्रिया दिनुहोस्