Logo
८ असार २०८२, आईतबार
(July 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

८ लाख घुससहित पक्राउ परेका उपकुलपति रौनियारलाई काठमाडौं ल्याइयो

प्रदेश १ स्थित धरानमा ८ लाख घुससहित पक्राउ परेका विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा राजकमार रौनियार र उनका भतिज डा रामहरि रौनियारलाई अख्तियारले आवश्यक कारवाहीका लागि काठमाडौं ल्याएको छ ।

बिहीबार प्रतिष्ठानको भवन निर्माणको ठेक्का पाएका ठेकेदारसँग ठेक्का लिए वापतको ८ लाख रुपैयाँ नगद सहित रौनियार प्रतिष्ठानको निवासबाट रंगेहात पक्राउ परेका थिए । रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रीय कार्यालयका प्रहरी उपरीक्षक हेम थापाको नेतृत्वमा खटिएको टोलीले सेवाग्राहीबाट घुस रकम लिए लगत्तै पक्राउ गरेको थियो ।

रौनियारलाई कार्यकक्षमा रकम लिएर निवासमा राख्न जाने वित्तिकै पक्राउ गरिएको थियो । ठूलो परिमाणको रकमसहित पक्राउ परेका रौनियार विरुद्ध मुचुल्का तयार पार्न अख्तियारको टोलीलाई रातभर समय लागेको थियो । रौनियारलाई टोलीले शुक्रबार बिहानै गाडीमा राखेर काठमाडौं लगिएको अनुसन्धानमा खटिएका प्रहरी उपरीक्षक हेम थापाले बताए ।

रौनियारले प्रतिष्ठानमा निर्माण र विभिन्न उपकरण खरिदमा ठेकेदारसँग रकम माग गरेको उजुरी परेको थियो । उजुरीपछि पीडित पक्षसँग रकम माग गरेको फोन रेर्कड अख्तियारमा पुगेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पीडितलाई ८ लाख रकम दिएर रौनियारलाई पक्राउ गर्न टोली परिचालन गरेको बुझिएको छ ।

रौनयारले प्रतिष्ठानको नेतृत्व राम्रोसँग सम्हाल्न नसकेको भन्दै गत फागुनमा सरकारले पदबाट बर्खास्त गरेको थियो । बर्खास्तपछि रौनियारले सर्वोच्च अदालतमा रिट दायर गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा र न्यायाधीश मिरा खड्काको संयुक्त इजलासले अल्पकालिन अन्तरिम आदेश गरेपछि उनी पुर्नवाहली भएका थिए ।

प्रकाशित मिति: Jul 12, 2019

प्रतिक्रिया दिनुहोस्