तरकारीसहित प्रदर्शनमा उत्रिए नेविसंघका नेता-कार्यकता, सरकारी निर्णय विरुद्ध आन्दोलनको घोषणा
काठमाडौं : प्रमुख प्रतिपक्षी दल काँग्रेसको भातृसंगठन नेविसंघले सोमबार देशभरका क्याम्पस अगाडि प्रदर्शन गरेको छ ।
सरकारले भारतबाट विषाक्त तरकारी तथा फलफूल आयात गर्न दिने निर्णय गरेर जनस्वास्थ्यमाथि खेलबाड गर्न खोजेको भन्दै प्रमुख प्रतिपक्षी दल काँग्रेसको भातृसंगठन नेविसंघले सोमबार देशभरका क्याम्पस अगाडि प्रदर्शन गरेको हो ।
सोही क्रममा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टको अगुवाइमा राजधानीको बालाजु-नेपालटारस्थित ग्रामिण र एनआर क्याम्पस अगाडि विरोध प्रदर्शन गरिएको छ ।
तरकारीसहित प्रदर्शनमा उत्रिएका नेविसंघका नेता-कार्यकर्ताले जनतालाई विष मिसिएको तरकारी खुवाउन पाइँदैन भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए । आइतबार एक विज्ञप्ति जारी गर्दै नेविसंघ महामन्त्री कुन्दन राज काफ्लेले भारतीय तरकारी बिना जाँच आयात गर्ने सरकारी निर्णय विरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेका थिए ।
जसअनुसार सोमबार देशभरका क्याम्पस अगाडि तरकारीसहित विरोध प्रदर्शन गर्ने तय भएको थियो ।
यस्तै २४ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट प्रधनमन्त्रीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाउने, असार २५ गते विषाक्त तरकारीको असरबारे प्रचारप्रसार गर्ने, २६ गते मसाल जुलुस निकाल्ने र २७ गते माइतीघरमा प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।
सरकारले असार १९ गते विहिबार मन्त्रिपरिषद् बैठकबाट भारतबाट नेपाल आयात हुने फलफूल तथा तरकारीमा प्रयोग भएको विषादी परीक्षण नगर्ने निर्णय गरेपछि यसको विरोध हुदै आएको छ ।