Logo
१२ श्रावण २०८१, शनिबार
(July 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आइफा अवार्ड : पैसा मात्रै बचेर हुँदैन, प्रतिष्ठा पनि बच्नु पर्छ : दीपकराज गिरी

काठमाडौं : नेपालमा इन्टरनेशनल इन्डियन फिल्म एकाडेमी अवार्ड गर्ने समाचार सुनेपछि दीपकराज गिरीले सरकारविरुद्ध व्यंग्यवाण प्रहार गरे। अहिले पनि बलिउडको दबदबा रहेको कलिउडमा दीपकराज निर्मातासँगै हिरोकारुपमा चर्चित छन् ।

उनले हालै नेपालमा हुने भनिएकोे आइफा अवार्डको तयारी गरेको समाचार सुन्नेबित्तिकै सरकारविरुद्ध व्यंग्य कस्न उत्रिए । १९ औँ आइफा अवार्ड समारोहका लागि बजेट छुट्याएको सुनेपछि उनले सरकारको क्षमतामाथि प्रश्न गरे ।

असार १४ गते सामाजिक सञ्जाल फेसबुकमार्फत् दीपकराजले कटाक्ष गरे । अर्थात् नेपालमा हुने भनिएको आइफा अवार्डको विपक्षमा उनको पनि मत दर्ज भयो । असार १४ गते फेसबुकमा राखेको उनको धारणाले नेपाल सरकारले सुरक्षा दिन नसक्ने दाबी गरिएको थियो । आइफाका क्रममा पुरै बलिउड ल्याउने भनेर सरकारले मजाक गर्ने भन्दै कटाक्ष गर्न भ्याए दीपकराजले ।

यसअघि बलिउड अभिनेता सलमान खाना र कमेडियन कपिल शर्मालाई ल्याउन खोज्दा सरकारले सुरक्षा दिन नसक्ने भनेको उनले स्मरण गराए। ’सलमान खान र कपिल शर्मालाई त सुरक्षा दिन सकिन्न भनेर कार्यक्रम नै रद्द भो’, उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका थिए, ’अब त झन् पूरै बलिउड ल्याउने रे! मजाक गर्नुहुन्छ पान्डेजी….।’

कलिउडलाई सहयोग नगर्ने सरकारले बलिउडलाई यहाँ उतार्दैमा नेपाल र नेपाली चलचित्रका लागि कुनै फाइदा नहुने उनको तर्क थियो । अर्थात् दीपकराज आइफा अवार्ड्विरुद्ध अग्रपंक्तिमा उभिए । अनि बोली फेरे सुरुमा नेपालमा हुने भनिएको आइफा अवार्ड्विरुद्ध अभिव्यक्ति दिँदै हिँडेका उनै दीपकराजले बुधबार एक्कासी बोली फेरे । अनावश्यक विरोध भएपछि सरकारले नेपालमा यो वर्ष आइफा अवार्ड नगर्ने निचोड निकालिसकेपछि दीपकले बोली फेर्दै फेसबुकमा राष्ट्रभक्तिसहिका आफ्ना धारणा राखे ।

२०१५ को नाकाबन्दीपछि बढेको भारतविरोधी सेन्टिमेन्टले पनि आइफाबाट सरकारलाई पछि हट्न बाध्य पार्यो। नेपाली चलचित्र प्रवर्द्धनमा सरकारले एक पैसो लगानी नगरेको उग्र टिप्पणीसहितका आलोचनाकाबीच नेपाल पर्यटन बोर्डले आइफा समारोह यो वर्ष नेपालमा नहुने जनायो ।

बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले अनावश्यक आलोचना र विवाद भएपछि आइफा समारोह यो वर्ष गर्ने निर्णयबाट सरकार पछि हटेको जानकारी दिए । त्यसपछि दीपकराजले राष्ट्रवादी लाइनमा आफ्ना कुरा फेसबुकमा सेयर गरे। सुरुमा पुरै बलिउड आउँदा सरकारले कसरी सुरक्षा दिन सक्ला भनेर कटाक्ष गरेका उनै दीपकराजले ठुला कार्यक्रम नेपालले गर्नै नसक्ने सन्देश विश्वमाझ जाने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरे ।

सुरुमा सरकारमाथि सलमान र कपिललाई सुरक्षा दिन नसकेको भन्दै व्यंग्य गरेका दीपकराजले निजी र सरकारी क्षेत्रले गर्न खोजेका अन्तर्रा्ष्ट्रियस्तरका ठुला कार्यक्रम लगातार धेरै पटक स्थगित हुँदा नराम्रो सन्देश गइरहेको गहिरो चिन्ता जनाए। सुरुमा सरकारमाथि व्यंग्यवाण गरेका उनी अन्तिममा राष्ट्रको बेइज्जत हुने तहसम्म पुगे। उनको चिन्ता अब पैसाको भन्दा प्रतिष्ठातिर गएको छ। ’आइफा नगरेर देशको पैसा त बच्यो राम्रो कुरा हो। तर अन्तराष्ट्रियस्तरका कुनै पनि ठूला कार्यक्रम गर्न नसक्ने देश भनेर पनि प्रचारित हुदैछ कि?’, सरकारले आइफा नगर्ने बताएपछि दीपकले चिन्ता जनाउँदै भने, ’निजीस्तरले गर्न लागेको होस् वा सरकारी स्तरले.. .यस्ता ठूला कार्यक्रमहरू लगातार धेरै पटक स्थगित भइरहेका छन्। यसले पनि नराम्रो सन्देश चाहिँ गइरहेको छ। पैसा मात्रै बचेर हुँदैन ….प्रतिष्ठा पनि बच्नु पर्छ !’

प्रकाशित मिति: Jul 4, 2019

प्रतिक्रिया दिनुहोस्