Logo
१२ श्रावण २०८१, शनिबार
(June 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री भन्छन् -‘मेरो कार्यकालमा गरिबी र बेरोजगारी अन्त्य हुन्छ’

काठमाडौं : श्रम तथा रोजगार सममेलन उद्घाटन समारोहमा आफ्नो उपस्थिति जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा नेपालमा गरिबी र बेरोजगारी अन्त्य हुने दाबी गरेका छन् । उनले आफूले गरेका राम्रा कामहरुको चर्चा नगर्नको लागि आग्रह पनि गरका छन् ।

उनले भने, ‘मैले गरेको राम्रो कामको चर्चा नगर्दा पनि हुन्छ । च्यातेर डस्टबिनमा फालिदिए पनि हुन्छ, तर काम चाहिँ गर्नुपर्छ । सुन्दर, सुरक्षित, समृद्ध नेपाल बनाउन सबै लाग्नुपर्छ ।’

यस्तो छ प्रधानमन्त्रीको सम्बोधनका प्रमुख बुँदाहरु

  • मैले गरेको राम्रो कामको चर्चा नगर्दा पनि हुन्छ । च्यातेर डस्टबिनमा फालिदिए पनि हुन्छ, तर काम चाहिँ गर्नुपर्छ । सुन्दर, सुरक्षित, समृद्ध नेपाल बनाउन सबै लाग्नुपर्छ ।
  •  स्वभाविक हो, अहिले कोही सत्तापक्ष छ, कोही प्रतिपक्षमा छ । छलफल गरौं । देश विकासको काममा सँगै जाऔं ।
  •  जो सत्तामा आए पनि उसले गरिबीसँग जुध्नैपर्छ । मेरो कार्यकालमा गरिबी र बेरोजगारी अन्त्य गर्छु ।
  • रोजगारी सिर्जना र गरिबी अन्त्यका लागि जीवनउपयोगी शिक्षा दिनुपर्छ । कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र औद्योगिकीकरण गर्नैपर्नेमा जोड दिऔं ।
  •  कृषि प्रणाली पुरानो छ । बारीमा करेला फल्छ, अदुवा फल्छ तर आफूले खाएर बढी भएको बजारमा लैजान सक्ने अवस्था छैन । चार बोट सुन्तला लगाएर विदेश निर्यात गर्न सकिँदैन । अब कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र औद्योगिकीकरण गर्नुपर्छ ।
  • सम्मानजनक काम र न्युनतम पारिश्रमिकको व्यवस्था गरियो भने देशभित्रै रोजगारी सिर्जना गर्न सकिन्छ । शिक्षा क्षेत्र बेरोजगार उत्पादन गर्ने थलो भएको छ । शैक्षिक प्रमाणपत्र समस्या होइन, समाधान बन्नुपर्छ । शिक्षा प्रणालीलाई जीवनपयोगी बनाउनुपर्छ ।
  •  देशको विकास गर्न काम गर्नुपर्ने, तर काम गर्ने इमान्दार नेपाली जनशक्ति विदेश जाने प्रवृत्ति छ । स्वदेशमै अवसर हुँदाहुँदै पनि नेपालीहरु विदेशिने गरेका छन् ।
  • नेपालीहरु काम गर्न रुचि राख्छन्, इमान्दार छन्, त्यही भएर विदेशी रोजगारदाताले पनि बोलाउँछन् । अहिले दुईटा कुरा मिलेको छैन( विकास गर्नलाई काम गर्नुपर्छ, त्यसको लागि काम छैन, जब हामी काम गर्न लाग्छौं, तब जनशक्ति हुँदैन ।
  • अहिले युवा जनसंख्याको बाहुल्य छ । बेरोजगारको जुन चर्चा छ, त्यो वास्तविक होइन । जमिन छ तर बाँझै छ, काम गर्ने मान्छे पनि छ, तर मान्छेले काम गर्दैन ।
  • सबैभन्दा पुरानो मन्दिर खोज्न नेपालमै आउनुपर्छ । चाँगुनारायण १८ सय वर्षदेखि डाँडामा बसेर हेरिराछ, पेरिस कसरी उठ्यो भन्ने पनि यसले र्हेयो, लण्डन कसरी उठ्यो भन्ने पनि यसले र्हेयो । कोलम्बसले कसरी अमेरिका पत्ता लगाए भनेर हेरेर पनि चाँगुनारायण मुस्कारायो । यो हाम्रो सम्पदा हो, यो हाम्रो सम्पत्ति हो ।
  • हामीले हिमालय क्षेत्रको पानीलाई साँच्चिकै मिनरल वाटर बनाएर बेच्न सक्छौं । यार्सा खाँदै हुर्किएको चौरीको दूध बेच्न सक्छौं, यार्सा खाँदै हुर्किएको च्यांग्राको मासु बेच्न सक्छौं ।

प्रकाशित मिति: Jun 30, 2019

प्रतिक्रिया दिनुहोस्