Logo
१२ श्रावण २०८१, शनिबार
(June 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ऊर्जामन्त्रीले भने-‘बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा कसैलाई दिएको छैन’

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माणको जिम्मा कसैलाई नदिएको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्र्तगत ऊर्जा, जलस्रोत तथा सिंचाई शीर्षक माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै उनले अहिलेसम्म निर्माणको जिम्मा कसैलाई नदिएको बताएका हुन् ।

विपक्षी दलका सांसदहरुले कांग्रेस नेतृत्वको सरकारले बुढीगण्डकी आयोजना नेपालकै लगानीमा गर्ने निर्णय गरेको स्मरण गराउदै फेरी किन चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय गरेको भन्दै प्रश्न गरेका थिए ।

मन्त्री पुनले गेजुवालाई निर्माणको जिम्मा दिने भनी मिडियामा आएको समाचारमा सत्यता नभएको बताउदै सरकारले भने अनुसार सो कम्पनीसंग ५ महिना अघि ३ चरणमा छलफल भएपनि निर्माण गर्ने गरि कुनै सम्झौता नभएको स्पष्ट पारे ।

मन्त्री पुनले, ‘अहिले कुनै पनि सम्झौता भएको छैन । मात्रै नेपाल सरकारले, मन्त्रीपरिषद्ले उर्जा, जलस्रोत, सिंचाई मन्त्रालयलाई जो नाम लिइएको कम्पनीसँग अहिले छलफल गर्न भनेको हो र तीन चरण ५ महिना अगाडि हामी छलफल गर्यौ । त्यसपछि अगाडि बढेको छैन । हामी उपयुक्त मोडालिटीमा अगाडि बढ्छौ । र अहिले सरकारले सोचेको इपिसियस मोडालिटीमा काम अगाडि बढाउने कि भनेर छलफल सुरु गरेको । त्यसकारण यसलाई कुनै भकुण्डो बनाउने कुरो, यसमा कुनै चलखेलको कुरा, यसमा कुनै अनियमितताको कुरा सोह्रै आना असत्य कुरा हुन् । झुट कुरा हुन् । यसमा कुनै सत्यता छैनन् । बाहिर मिडियामा आएको कुराको कुनै सत्यता छैनन् ।’

उनले राष्ट्रिय गौरवका आयोजनालाई राष्ट्रिय हितमा नै प्रयोग गर्ने स्पष्ट पारे । उनले आगामी आर्थिक बर्षमा सरकारले आयोजनाका लागि छुट्याएको बजेट बाँकी मुआब्जा वितरणका लागि मात्रै भएको बताए ।

उनले बुढी गण्डकी आयोजनाका लागि पेट्रोलमा लगाएको ५ रुपैया करबाट ३० अर्ब संकलन भएकोमा २५ अर्ब आयोजनाको मुआब्जा वितरणमा खर्च भईसकेको बताए । १ खर्ब जति मुआब्जा वितरण गर्नुपर्ने अनुमान अनुसार कर संकलनबाट नै सो रकम परिपुर्ति हुने अनुमान सरकारले लिएको पनि उनले स्पष्ट पारे ।

प्रकाशित मिति: Jun 24, 2019

प्रतिक्रिया दिनुहोस्