Logo
१८ बैशाख २०८१, मंगलबार
(June 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालगन्जमा भारतीय पर्यटकको भीड, विमानस्थल व्यस्त

सांकेतिक तस्विर

बाँके : मानसरोवर जाने उपयुक्त समय हरेक वर्षको वैशाखदेखि भदौसम्म हो । त्यस कारण नेपालगन्जमा भारतीय पर्यटकको भीड बढेको छ । नेपालगञ्ज, कोहलपुर र आसपासका होटल भारतीय पर्यटकले भरिएका छन् ।

नेपालगञ्जहुँदै कैलाश मानसरोवर तीर्थाटन गर्न जान आएका भारतीय पर्यटकका कारण यहाँका होटल भरिभराउ भएका हुन् ।

मानसरोवर-कैलाश पर्वत भ्रमणका लागि आउने भारतीयको सङ्ख्या बढ्दै गएको होटल व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष भाष्कर काफ्ले बताउँछन् ।

“पर्यटकको सङ्ख्या बढेसँगै यहाँ होटल तथा अन्य व्यवसाय फष्टाएको छ”, उनले भने । नेपालको बाटो हुँदै जाने भारतीय तीर्थयात्रीको सङ्ख्या वर्षेनी बढ्दै गएको छ । पछिल्लो समय पर्यटकको सङ्ख्यासँगै स्तरीय होटलसमेत बढेका छन् ।

हवाई उडानलाई व्यवस्थित गर्दै हुम्लाको हिल्सासम्मको सडकलाई विस्तार गर्न सके अझै धेरै भारतीय तीर्थयात्री बढ्न सक्ने देखिन्छ । पाँच महीनासम्म चल्ने मानसरोवर यात्रामा जानेको सङ्ख्या बढ्दै गएको छ । बाँकेमा तीन हजारभन्दा बढी होटल सञ्चालनमा छन् । नेपालगञ्ज उपमहानगरपालिकामा मात्रै एक हजार ५०० भन्दा बढी होटल सञ्चालनमा रहेको होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले बताए ।

नेपालगञ्जमा होटल सोल्टी, वेस्टेन्ड प्रिमियर, सिद्धार्थ भ्यू, किचन हट, बाटिका, स्नेहा, सिटी प्यालेस, सिग्नेट इन कृष्णा, कल्पतरु र कोहलपुरमा सेन्टर प्लाजालगायत होटल सञ्चालनमा छन् ।

भारतीय पर्यटकको चाप बढ्न थालेपछि नेपालगञ्जका प्रायः सबै ठूला र मध्यम खालका होटल भरिभराउ छन् । नेपालगञ्ज नाका हुँदै मानसरोवर कैलाश दर्शन गर्न जान दैनिक सयौँको सङ्ख्यामा भारतीय पर्यटक नेपालगञ्ज आउने गरेका छन् ।

प्रकाशित मिति: Jun 22, 2019

प्रतिक्रिया दिनुहोस्