Logo
१२ श्रावण २०८१, शनिबार
(June 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुठी विधेयकको बिरोध प्रर्दशनकारी माथि बल प्रयोग भएको गृहमन्त्रीद्वारा स्वीकार

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले गुठी विधेयकको बिरोध प्रर्दशनमाथि सामान्य बल प्रयोग भएको स्वीकार गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा काँग्रेस सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री थापाले आइतबार माइतीघर मण्डलामा गुठियारहरुले गरेको प्रदर्शनमा पानीको फोहोरासहित प्रहरीले सामान्य बल प्रयोग गरेको उनले बताए ।

उनले यसमा सरकार नैतिक जिम्मेवारी लिन तयार रहेको बताउँदै प्रर्दशनकारीहरुबाट पनि बल प्रयोग हुँदा प्रहरीहरु घाइते भएको उल्लेख गरे । गत आइतबार सरकारले ल्याएको गुठी विधेयकको विरोधमा काठमाडौंको माइतिघर मण्डलामा गुठियारहरुले प्रर्दशन गर्दा प्रहरीले दमन गरेको थियो । संसद बैठकका बोल्दै गृहमन्त्री थापाले भने- ‘शान्तिपूर्ण रुपमा विरोध प्रर्दशन गर्न पाइन्छ, तर सुरक्षाकर्मीलाई ढुङ्गा, इटाले हान्ने, उनीहरुको मुखलाई क्षत विच्छेद गर्ने लोकतान्त्रिक अधिकार होइन ।

केही प्रहरीहरुले अभद्र व्यवहार गरेको भन्ने कुरा पनि आएको छ, निश्चय पनि त्यसमा राज्यले छानविन गरिरहेको छ ।’ उनले दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । मंगलबारको बैठक सुरु भएलगतै नेपाली काँग्रेसका सांसदहरु बैठकमा उभिएपछि सभामुख कृष्णबहादुर महाराले कांग्रेसका सांसदहरुलाई बोल्न समय दिएका थिए । बैठकको सुरुवातमा कांग्रेस सांसद राजेन्द्र केसीले सरकारले गुठी सम्बन्धी बिधेयक ल्याएपछि काठमाडौं र मुलुकभर रहेका गुठियारहरु आतंकित भएको बताए ।

उनले भने-‘पिता पूर्खाले कुनै एक धर्ममा अटल विस्वास राख्दै पूर्खाले राखिदिएको गुठीलाई आज समाप्त पार्ने खेल भएको छ । यो कुनै हालतमा स्वीर्काय हुँदैन । काठमाडौंलाई सिटी अफ फेस्टिभल पनि भनिन्छ, यो मन्दिरै मन्दिरको शहर हो । यो चाडपर्व र जात्राको शहर पनि हो । यो हाम्रो पहिचान पनि हो । त्यो समाप्त हुने खेल भइरहेको छ ।

यो राजधानीवासीलाई कुनै हालतमा पनि स्वीर्काय हुनेछैन ।’ आफ्नो परम्परा जोगाउछु भनेर माइतिघर मण्डलामा शान्तिपूर्ण आएका गुठियारलाई निर्मम यातना दिएको उनले बताए । उनले यसबारेमा तत्काल छानविन समिति बनाउन आग्रह गरे । उनले गुठी बिधेयक समयमा सरकारले फिर्ता नलिए ठूलो आन्दोलन हुने बताए ।

गृहमन्त्रीले जवाफ दिएपछि पुन कांग्रेसका सांसदहरुले शान्तिपूर्ण प्रर्दशनका क्रममा गिरफ्तार भएकालाई लात्तै लात्तैले हानिएको भन्दै त्यसको सरकारले जिम्मेवारी लिनुपर्ने बताए । यस्तै सत्तापक्ष सांसद राजेन्द्र श्रेष्ठले १ घण्टाको धर्ना सकिन ५ मिनेट बाँकी रहँदा अमानवीय ढंगले आक्रमण गरिएको, जेष्ठ नागरिकलाई घाइते हुने गरी हानिएको बताए ।

गृहमन्त्रीको जवाफ चित्त नबुझेका सांसदहरुले मान्छेलाई लातका लात कुटेर घाइते बनाइएको उल्लेख गर्दै गृहमन्त्रीले झुटो बोलेको दावी गरे । कांग्रेस सांसद पार्वति डिसी चौधरीले भनिन्-‘गृहमन्त्रीले झुटो बोल्नुभएको छ । गुठी सम्बन्धी बिधेयक ल्याएर सरकारले परम्परागत संस्कृतिलाई मेटाउने काम भएको छ । यसका बारेमा निष्पक्षा छानविन समिति बनाउनुपर्छ ।

सांसदहरुको जवाफ दिंदै गृहमन्त्री रामबहादुर थापाले सो घटनाबारे सरकारले नैतिक जिम्मेवारी लिने बताए । उनले भने-‘त्यहाँ जे जस्तो घटना भएको छ त्यसमा सरकारले छानविन गरिरहेको छ । शान्तिपूर्ण प्रर्दशन गर्न नपाउने हो कि भनेर प्रश्न उठाएपनि सरकार अधिनायकबादको बाटोमा छैन, दिनदिनै प्रर्दशन भइरहेको छ त्यो तथ्यले नै बोल्छ । प्रहरीले फोहोरा फालेको छ, सुरक्षाकर्मीमाथि पनि ढुङ्गा प्रहार भएको छ । प्रहरी माथि ढुङ्गाले आक्रमण गर्नु लोकतन्त्रिक मान्यता होइन ।’ सरकारले गुठीसम्बन्धी बिधेयक ल्याएपछि बिरोध सुरु भएको छ ।

प्रकाशित मिति: Jun 11, 2019

प्रतिक्रिया दिनुहोस्