Logo
१२ श्रावण २०८१, शनिबार
(June 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीय सांसदका सबै सदस्यलाई ल्यापटप बाँड्ने तयारीमा सरकार

काठमाडौं : सांसदलाई पेपरलेस बनाउने भन्दै सरकारले संघीय सांसदका सबै सदस्यलाई ल्यापटप बाँड्ने तयारी गरेको छ ।

संघीय संसद सचिवालयले ३ सय ३४ जना सांसदलाई ल्यापटप उपलब्ध गराउने गरी गत १९ जेठमा बोलपत्र आह्वान गरेको छ । प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ सांसदले ल्यापटप पाउनेछन् ।

१ महिनाको समयावधि राखेर ल्यापटप खरीदको बोलपत्र जारी भएको हो । ‘पेपर, प्रिन्ट र फोटोकपीका लागि सचिवालयको ठूलो रकम खर्च हुने गरेको छ,’ संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने, ‘सचिवालयलाई क्रमशः पेपरलेस बनाउने अभियानस्वरुप ल्यापटप उपलब्ध गराउन लागिएको हो ।’ संसदीय समितिका बैठकहरुलाई पनि सकेसम्म प्रविधिमा आधारित बनाउने उनले बताए ।

अर्थले दियो सहमति :

सांसदका लागि ल्यापटप खरीद गर्न अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेपछि बोलपत्र आह्वान गरिएको हो । ‘अर्थले रकम दिने सहमति दिएपछि हामीले बोलपत्र मार्फत ल्यापटप खरीद प्रक्रिया अगाडी बढाएका हौं,’ सचिवालय स्रोतले भन्यो ।

संसद सचिवालयका अनुसार पहिलो पटक सांसदहरुका लागि ल्यापटप बाँड्न लागिएको हो । पहिलो र दोस्रो संविधानसभा निर्वाचनपछि संसदीय दलका नेता र प्रमुख सचेतकलाई ल्यापटप बाँडिएको थियो । त्यसका लागि भने गैरसरकारी संस्थाले रकम उपलब्ध गराएको थियो । यसपटक राज्यकोषबाट करीव साढे ३ करोड रकम खर्चेर सांसदका लागि ल्यापटप किन्न लागिएको हो ।

संसदमा ल्यापटप तथा कम्प्युटर चलाउन नजान्ने सांसदहरु धेरै भएकाले आगामी आवको बजेटमा विनियोजन भएको सोही शिर्षकको रकमबाट ल्यापटप प्रयोगसम्बन्धी सामान्य तालिम दिने योजना सचिवालयको छ ।

प्रकाशित मिति: Jun 11, 2019

प्रतिक्रिया दिनुहोस्